दार्जीलिङ, 15 मार्चः बन्द अवस्थामा रहेको सिङ्ला चियाकमानका महाप्रबन्धको बङ्ग्लो जलेर खरानी भएको छ। पुलिस सूत्रका अनुसार आज साँझ करिब 5 बजे उक्त बङ्ग्लोमा आगो लागेको हो।
घटनाबारे जानकारी पाएलगत्तै अग्निशमन विभागका कर्मीहरू र पुलिस बल घटनास्थलमा पुगे तापनि त्यसबेलासम्म बङ्ग्लो जलेर खरानी भइसकेको बताइएको छ।
घटनास्थलमा पुगेको पुलिसले आगलागीबारे छानबिन गरिरहेको छ। आगो लागेको या असामाजिक तत्त्वहरूले लगाएको हो भन्नेबारे पुलिसले जाँच गरिरहेको पनि बताइएको छ।
उल्लेखनीय छ, सिङ्ला चियाकमान पछिल्लो 9 जनवरीका दिनदेखि बन्द छ।
दीपेश लिम्बू नामका एक श्रमिकले सहप्रबन्धक ओमप्रकाश चोटियालाई हँसिया प्रहार गरेपछि नै सुरक्षाको कारण देखाउँदै मालिकपक्षले त्यसै राति कमान बन्द गरेको थियो, जुन चियाकमान आजका दिनसम्म खोलिएको छैन।
सिङ्ला चियाकमानमा करिब 600 श्रमिक/कर्मचारी छन्।