कालेबुङ, १५ मार्चः पार्टी कार्यकर्ता वीरेन्द्र लामालाई कुटपिट गरिएको घटनाको विरोधमा विमल गुरुङपन्थी गोजमुमोले आज शहरमा पोस्टरिङ गरी दोषीहरूलाई झट्टै पक्राउ गर्नुपर्ने माग पुलिस-प्रशासनलाई गरेको छ।
उल्लेखनीय छ, हिजो बेलुकी करिब ७:३० बजी विमलपन्थी मोर्चा कार्यकर्ता वीरेन्द्र लामालाई मल्ली रोड मुनाल लजनजिक कुटपिट गरिएको थियो। कुटपिटमा घाइते भएका वीरेन्द्र लामा अहिले कालेबुङ अस्पतालमा उपचाराधीन छन्।
यस घटनासम्बन्धमा विमलपन्थी मोर्चाले हिजो कालेबुङ थानामा प्राथमिकी दर्ता गरी दोषीहरूलाई पक्राउ गर्नुपर्ने माग गरिसकेको छ भने आज शहरमा पोस्टरिङ गरेको हो।
‘नयाँ सोच नयाँ विचारको गुण्डाराज र पहाड़मा अशान्ति सिर्जना गर्ने सोच र मानसिकताको विरोध गर्दछौँ’, पोस्टरमा भनिएको छ-‘ठाकुरबाड़ीनिवासी वीरेन्द्र लामालाई हमला गर्ने जीटीए-२ का युवा नेता सन्तोष भुजेल, जगनाथ भुजेल, अमरूल, सुरज राईलाई पुलिस प्रशासनले चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नुपर्छ।’
त्यस्तै अर्को पोस्टरमा भनिएको छ-पहाड़मा जीटीए-२ का नेताहरू हतियार लिएर घुम्दैछन्, चुनाउ आयोगले के गर्दैछ? जवाब देऊ।
अर्कोतिर, यस घटनाबारे बोल्दै विमलपन्थी युवा मोर्चा कालेबुङ जिल्ला समिति अध्यक्ष तोप्देन भोटियाले जीटीए-२ का नेताहरूले गनपोइन्टमा वीरेन्द्र लामालाई प्राणघातक हमला गरेको बताए।
गोर्खा जनमुक्ति मोर्चा (विमलपन्थी), युवा मोर्चा, नारी मोर्चाले यो घटनाको घोर भर्त्सना जनाउँदै दोषीहरूलाई शीघ्र पक्राउको माग गरेको उनले बताए।
“यस्ता कुत्त्वहरूले विगतका दिनमा पनि कालेबुङको शान्तिशृङ्खलालाई भङ्ग गर्ने कोशिश गरेका थिए। अब पनि यस्ता कुतत्त्वहरूलाई लगाम लगाउने काम नभए, पुलिस प्रशासनले पारदर्शी दङ्गमा यस्ता कुतत्त्वहरूविरुद्ध कानुनी कारबाही नगरेको खण्डमा भोलिका दिन पहाड़ र कालेबुङमा कहीं केही अप्रिय घटना घट्यो भने, त्यसको जिम्मेवारी हामी लिदैनौँ”, तोप्देन भोटियाले थपे, “भोलि पहाड़मा आगो लाग्यो भने त्यसको जिम्मेवारी हामी हुनेछैनौँ, यसको जिम्मेवारी पुलिस प्रशासन हुनेछ; अनित थापा र विनय तामाङ हुनेछन्। किनभने पार्टीगत अनुशासनात्मक कारबाही गरेको केही समयपछि नै यस्ता कुतत्त्वहरूलाई पुनः पार्टीमा फर्काएर ल्याउनुको मूल उद्देश्य चुनाउको बेलामा यस्तै अशान्तिपूर्ण कामहरू गर्नका लागि हो।”
उनले थप भने, “मैले पहिला पनि भनेको थिए, यो नाङ्गो ठट्याएर हात्ती तर्साउने काम हुँदैछ। तर यसपालि हामी डराउने छैनौँ। पहिला ममाथि पनि हमला भएको थियो। तर समयपरिस्थितिले गर्दा त्यसबेला हामी चुप लागेर बस्यौँ। यसपालि चाहिँ हामी सड़कमा ओर्लिएर यसको प्रतिवाद गर्नेछौँ। र यस प्रकारको घटनाको हामी जवाब दिन पनि तयार छौँ।”