कोरोना सङ्क्रमित नर्सका पति पनि पोजिटिभ

0
1159

सिलगढ़ी, 15 अप्रेलः पछिल्लो आइतवार कोरोना सङ्क्रमित रहेको पुष्टि भएकी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् नर्सका पति पनि पोजिटिभ पाइएको छ।

ती नर्सका पति र करिब दुई वर्षे छोराको सोमवार कोरोना टेस्ट गरिएको थियो। जसमा पतिको टेस्ट पोजिटिभ आएको छ भने छोराको टेस्ट नेगिटिभ आएको बताइएको छ।

दुवैको टेस्ट रिपोर्ट हिजो आएको हो। पोजिटिभ पाइएका नर्सका पतिलाई मतिगढ़ाको हिमालच विहारस्थित डा. च्याङ सुपर स्पेशालिटी अस्पतालमा भर्ना गरिएको छ।

अर्कोतिर, कोरोना सङ्क्रमित ती नर्सकी आमाको पनि हिजो अर्थात् मङ्गलवार कोरोना टेस्ट गरिएको छ, जसको रिपोर्ट भने आज आउने बताइएको छ।

उल्लेखनीय छ, कोरोना भाइरसकै कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाकै सम्पर्कमा आएको कारण ती नर्स कोरोना सङ्क्रमित बनेकी बताइएको छ। किनभने उनी कालेबुङनिवासी ती महिलाको उपचारमा शुरुमै खटिएकी थिइन्।

मेडिकल कलेज सूत्रका अनुसार ड्युटीपछि उनलाई क्वारेन्टाइन लिभ दिइएको थियो। साथै शुरुमा गरिएको कोरोना टेस्ट नेगिटिभ आएको थियो।

तर 10 अप्रेलका दिन उनलाई ज्वरो आएपछि भोलिपल्ट 11 अप्रेलका दिन उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आईडी-1 वार्डमा भर्ना गर्नका साथै त्यसै दिन उनको कोरोना टेस्ट गरिएको थियो।

12 अप्रेलका दिन उनको टेस्ट रिपोर्ट पोजिटिभ आएको हो। उनलाई पनि हिजो उत्तर बङ्गाल मेडिकल कलेजबाट डा. च्याङ सुपर स्पेशालिटी अस्पतालमा रेफर गरिएको बताइएको छ।

यसैगरी पछिल्लो 6 अप्रेलका दिन कोरोना पोजिटिभ पाइएकी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पातलमा कार्यरत् अर्की नर्स पनि अहिले डा. च्याङ सुपर स्पेशालिटी अस्पतालमा उपचाराधीन छिन्।

उनी पनि कालेबुङनिवासी ती महिलाकै सम्पर्कमा आएपछि कोरोना सङ्क्रमित बनेकी हुन्। किनभने यी नर्स पनि कालेबुङनिवासी महिलाको उपचारमा खटिएको मेडिकल टिममा सामेल थिइन्।

उल्लेखनीय छ, कोरोना भाइरसकै कारण दुखद मृत्यु भएकी कालेबुङनिवासी महिलाको सम्पर्क आएको कारण उत्तर बङ्गालका एक सहायक अधीक्षकसहित दुई नर्स कोरोना भाइरसबाट सङ्क्रमित पाइएको छ।

यद्यपि मेडिकल कलेजका सहायक अधीक्षकको दोस्रो टेस्ट नेगिटिभ आइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here