हरियाणा नम्बरको बसले दार्जीलिङमा बिहानै खैलाबैला, अफवाह फैलाउनेविरुद्ध कारबाही गरिने

0
1119

दार्जीलिङ, 15 अप्रेलः लकडाउन पार्ट-2-को प्रथम दिन आज बिहानै दार्जीलिङमा हरियाणा नम्बर प्लेट भएको बसमा केही विदेशी नागरिक देखिएपछि खैलाबैला मच्चिएको थियो, जुन विषय एकैक्षणमा व्यापक भाइरल बनेको थियो।

लकडाउनको समय हरियाणा नम्बरको बसमा विदेशी पर्यटकहरू देखिएपछि खैलाबैला मच्चिनु स्वाभाविक नै थियो, जसको फलस्वरूप दार्जीलिङ पुलिस पनि स्पष्टीकरण दिन अघि आउन बाध्य बन्न पऱ्यो।

दार्जीलिङ पुलिसले बताएअनुसार, भारत सरकारको गृह मन्त्रालयको पहलमा नै हाल देशका विभिन्न क्षेत्रमा अड्किएर बसेका विदेशी नागरिकहरूलाई आ-आफ्नो देश पठाउने प्रक्रिया चलिरहेको छ।

पुलिसका अनुसार यसै प्रक्रियाअनुसार, दार्जीलिङमा लकडाउन शुरू हुनअघिदेखि अड्किएर बसेका दुई स्पेनिश र एकजना पोर्तुगलका नागरिकलाई ल्याउनका लागि एउटा बस दार्जीलिङ आएको थियो।

उक्त बसमा ती विदेशी नागरिकहरूलाई देखेपछि स्थानीय एक युवकले आफ्नो वाट्सएप साथै फेसबुकमार्फत् भाइरल गर्ने कार्य गरेका थिए, जुन सरासर भूल रहेको पुलिसको भनाइ छ।

किनभने, सत्यताको जाँच नगरी यसप्रकारका म्यासेजहरू भाइरल गर्ने काम हुँदा धेरै मानिस प्रभावित बन्छन्। यसैकारण उक्त युवकविरुद्ध उचित कारबाही गर्ने पहल शुरू गरिएको पनि पुलिसले बताएको छ।
दार्जीलिङ सदर थाना प्रभारी तीर्थ नाथले यसको जानकारी गराउँदै भने, “पोर्तुगल र स्पेनका यी तीन जना नागरिक दार्जीलिङमा धेरै महिनादेखि थिए। किनभने, धेरै विदेशी पर्यटक दार्जीलिङमा घुम्न मात्रै आउँदैनन्, उनीहरू विभिन्न कामले पनि आउँछन्। र, धेरै महिनासम्म बस्ने गर्छन्। यस्तै यी विदेशी नागरिकहरू विगत निकै महिनादेखि दार्जीलिङमा थिए।’’

नाथले थप बताएअनुसार पोर्तुगल र स्पेन राजदूतावासको अनुरोधमा नै यी विदेशी नागरिकहरूलाई आ-आफ्नो देश पठाउनका लागि केन्द्रिह गृह मन्त्रालयले उक्त बसको व्यवस्था गरेको हो। तर यो बसमा यी विदेशी नागरिकहरू देख्नसाथ एक युवकले खैलाबैला मच्चाएका हुन्।

यसैले यसप्रकारका म्यासेजहरू कसैले पनि भाइरल नगरेको असल हुने उनको भनाइ छ।

यसका साथै सत्य कुरा नबुझे, जिल्ला प्रशासन अनि पुलिससित सम्पर्क गर्न सकिने पुलिस प्रभारी नाथले अपील गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here