मृत्यु सङ्ख्यालाई लिएर विवादः बङ्गालमा कोरोनाले ३० जनाको मृत्यु भइसकेको माकपाको दाबी

0
1348

कोलकाता, १५ अप्रेलः कोरोना भाइरसबाट बङ्गालमा ज्यान गुमाउनेहरूको सङ्ख्यालाई लिएर विवाद सिर्जना भएको छ।

राज्यले अहिलेसम्म कोरोना भाइरसको कारण सातजनाको मृत्यु भएको बताउँदै आए तापनि मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-ले यो सङ्ख्या ३० पुगिसकेको दाबी गरेको छ।

माकपाले मात्र होइन, भारतीय जनता पार्टीले पनि तृणमूल कङ्ग्रेस सरकारले राज्यमा कोरोना भाइरसबाट मृत्युको सङ्ख्यालाई लुकाएको अघिबाटै आरोप लगाइसकेको छ।

माकपाको मुखपत्र गणशक्ति दैनिकमा स्वास्थ्य प्रशासनका स्रोतहरूलाई उल्लेख गरी पहिलो पृष्ठमा राज्यमा कोरोना भाइरसको कारण ३० जनाले ज्यान गुमाइसकेको दाबी गरिएको छ।

गणशक्ति दैनिकमा गरिएको दाबीका अनुसार १३ अप्रेलसम्म २५ जनाले ज्यान गुमाएको थियो भने हिजो पाँचजनाको मृत्यु भएको छ।

अर्कोतिर आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कोरोना भाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्यालाई लिएर गलत जानकारी प्रचार गर्नेहरूविरुद्ध कड़ा चेताउनी दिएको छ।

उनले गणशक्ति दैनिकको नाम नलिइकनै मानिसहरूले हेडलाइन बनाउनका लागि मानिसहरूले मृत्यु सङ्ख्या उल्लेख गरिरहेको बताउँदै भनिन्, “यसो गर्नबाट सबैलाई म चेताउनी दिन्छु, किनभने गलत सूचना रोक्न सर्वोच्च न्यायालयको आदेश छ। हामी गलत सूचना प्रचार गर्नेहरूविरुद्ध कानुनी कारबाही गर्नसक्छौं। मृत्यु सङ्ख्या मैले होइन, तर एक विशेषज्ञ टोलीले निर्धारण गरिरहेको छ।”

यसैगरी तृणमूल कङ्ग्रेसका प्रवक्ता स्नेहाशिष चक्रवर्तीले पनि माकपा र भाजपाले जनतामा डर सिर्जना गर्नका लागि गलत सूचना प्रचार गरिरहेको आरोप लगाएका छन्।

यसैबीच, मङ्गलवार भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले पनि कोरोना भाइरसबाट भएको मृत्युको सङ्ख्यालाई लिएर राज्य सरकारको तीखो आलोचना गरेका थिए।

एमआर बङ्गुर अस्पतालमा राखिएका चार शवलाई परिवारलाई नसुम्पिएको भन्दै यसबारे विजयवर्गीयले मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए।

यसभन्दा अधि भाजपा आईटी सेलका राष्ट्रिय प्रमुख अमित मालवीयले पनि यस सम्बन्धमा राज्य सरकारको आलोचना गरेका थिए।

स्रोत- हिन्दुस्तान टाइम्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here