दार्जीलिङ, 15 अप्रेलः दार्जीलिङ विधानसभा क्षेत्रका सबैभन्दा दुर्गम स्थानमा अवस्थित तीनवटा मतदान केन्द्रका लागि आज नै चुनाउ अधिकारी साथै कर्मीहरू यहाँबाट प्रस्थान भए, जसमा सिरीखोला प्राथमिक पाठशाला, डाँड़ागाउँ निम्नोच्च विद्यालय र रम्माम फरेस्ट प्राथमिक पाठशाला मतदान केन्द्रहरू सामेल छन्।
यी तीनवटा मतदान केन्द्रमा करिब 25 सय मतदाता रहेका छन्, जसलाई प्रशासनिकस्तरमा माइनस पी-2-को नाम दिइने गरिएको छ।
यद्यपि, यसपालिदेखि यी मतदान केन्द्रहरूसम्म नै गाड़ी पुग्नसक्ने भएका कारण ईभीएम मशिन तथा मतदानसित सम्बन्धित अन्य सामग्रीहरू घोड़ामा लानुपर्ने अवस्था नरहेको यी मतदान केन्द्रमा प्रस्थान गर्नअघि चुनाउ अधिकारी राजेन लामाले बताए।
यसपालिसँगै सिरीखोला प्राथमिक पाठशालामा रहेको मतदान केन्द्रमा उनलाई खटिएको 4 पल्ट भइसक्यो। यसैले यसपालि पनि उनलाई नै यस मतदान केन्द्रमा खटाइएको लामाले बताए।
स्मरण गराइन्छ, वर्ष 2019-को लोकसभा अनि दार्जीलिङ विधानसभाको उपचुनाउसम्म सिरीखोला प्राथमिक पाठशालामा रहने मतदान केन्द्रसम्म पुग्नका लागि करिब १ देखि डेढ़ घण्टाको पैदल यात्रा गर्नुपर्थ्यो भने ईभीएम तथा मतदानसित सम्बन्धित सामग्रीहरू घोड़ामा लादेर पुऱ्याउनुपर्ने अवस्था थियो। तर, यसपालि सिरीखोरा प्राथमिक पाठशालासम्म गाड़ी कुद्ने कच्चा बाटो नै निर्माण भइसकेको छ।
यसैले यदि पानी परेन भने यहाँसम्म गाड़ी नै पुग्नसक्नेछ, जसका लागि आज नै चुनाउकर्मीहरू प्रस्थान गरेका छन्। उनीहरूलाई यस स्थानसम्म पुग्नका लागि दार्जीलिङबाट करिब 7 घण्टा समय लाग्नेछ।