सिलगढ़ी, १५ अप्रेलः आज दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले चोपड़ाको दासपाड़ामा भाजपा उम्मेदवार शाहिन अख्तरको समर्थनमा रोड शो गरे।
यसअवसरमा भाजपाका नेता राजीव ब्यानर्जी पनि विशेष रूपले उपस्थित थिए। रोड शोपछि उनीहरू भाजपाका वरिष्ठ नेता सैयद शाहनवाद हुसैनसँगै भाजपा कार्यकर्ता र नेताहरूसँग अन्तरक्रिया पनि गरे।
रोड शोलाई सम्बोधन गर्दै बिष्टले तृणमूल सरकारमाथि कटाक्ष गरे। साथै तृणमूल सरकारले चोपड़ालाई विकासदेखि वञ्चित राखेका कारण अहिले यस क्षेत्रले स्वच्छ पिउनेपानी, स्वेज, सड़क, उचित आवास र अन्य समस्याहरू भोगिरहेको बताए।
यसैगरी उनले यसपालि बङ्गालमा परिवर्तन निश्चित रहेको दावी गर्दै जनतालाई यो परिवर्तनको पक्षमा उभिएर भाजपा उम्मेदवार शाहिन अख्तरलाई प्रचुरक मतले विजयी बनाउने अपील गरे।
“तृणमूल कङ्ग्रेसकै कुशासनका कारण यस क्षेत्रका ८ वटा चियाकमान बन्द भएका छन्, जसका कारण १५,००० भन्दा अधिक मानिस बेरोजगार बनेका छन्”, बिष्टले आरोप लगाए, “चोपड़ामा सड़कहरूको अवस्था देशभरिमै सबैभन्दा खराब छ। यो क्षेत्र महत्त्वपूर्ण ‘चिकन नेक’ क्षेत्रमा अवस्थित रहे तापनि यहाँ बुनियादी ढाँचाको दुखद स्थिति उत्तर बङ्गालप्रति तृणमूल सरकारको पूर्ण उदासीनतालाई छर्लङ्ग पार्दछ।”