भविलाल लामिछानेलाई बाल तथा कर्ण विरहलाई युवा साहित्य अकादमी पुरस्कार

0
3278
बाल साहित्य पुरस्कार प्रापक भविलाल लामिछाने।

गान्तोक, 14 जूनः नेपाली साहित्यमा दुईवटा प्रतिष्ठित पुरस्कार दुई स्थापित कविलाई प्राप्त भएको छ। यसपटकको बाल साहित्य अकादमी पुरस्कार वरिष्ठ साहित्यकार भविलाल लामिछानेलाई प्राप्त भएको छ भने युवा साहित्य अकादमी पुरस्कार दार्जीलिङका कवि कर्ण विरहले पाएका छन्।

साहित्य अकादमी, नयाँ दिल्लीले आज मान्यताप्राप्त भारतीय भाषाहरूका लागि यो पुरस्कार घोषणा गरेको हो। बाल साहित्यमा 22 भाषाका लेखक अनि युवा साहित्यमा 23 भारतीय भाषाका लेखकले पुरस्कार प्राप्त गरेका छन्।

सबै भाषाका चयन समितिद्वारा सिफारिश गरिएका पुस्तक र लेखकका नामलाई साहित्य अकादमीका अध्यक्ष डा. चन्द्रशेखर कम्बारको अध्यक्षतामा आज बसेको बैठकले अनुमोदन गरेको साहित्य अकादमीका सचिव के श्रीनिवासरावले जानकारी गराएका छन्।

भविलाल लामिछानेको बाल कविता सङ्ग्रह ‘चराको चिरबिर भूराको किरकिर’-लाई यस वर्षको बाल साहित्य अकादमी पुरस्कार प्राप्त भएको हो। मोहन ठकुरी, शङ्कर प्रधान र मुक्तिप्रसाद उपाध्यायको तीन सदस्यीय जुरीले भविलाल लामिछानेलाई पुरस्कारका लागि छनौट गरेको थियो।

यसैगरी, दार्जीलिङका चर्चित कवि कर्ण विरहलाई उनको कविता सङ्ग्रह ‘चर्किएको भुइँ’-का लागि युवा साहित्य अकादमी पुरस्कार प्राप्त भएको छ। चन्द्रमणि उपाध्याय, डा. गीता छेत्री र केबी नेपालीको तीन सदस्यीय जुरीले उनको कविता सङ्ग्रहलाई पुरस्कारका लागि सिफारिश गरेको थियो। यसपटक आफ्नो मौलिक कृतिका लागि अर्का नेपालीभाषी युवा साहित्यकार युवराज भट्टराईले संस्कृत साहित्यमा युवा साहित्य अकादमी पुरस्कार हत्याएका छन्।

बाल साहित्य अकादमी पुरस्कार विजेता भविलाल लामिछाने असमका प्रतिष्ठित कवि हुन्। हाल उनी सिलगढ़ीनजिक सालबारीमा स्थायी रूपले बस्दै आएका छन्। उनका आधा दर्जनभन्दा बढ़ी कविता सङ्ग्रह प्रकाशित छन्, जसमा ‘अनागत’, ‘शब्द हुन् यी मेरा’, ‘एउटा घर यस्तो’, ‘असमाप्त पाइला’, ‘आकण्ठ स्वर’, ‘शीर्षकहीन’ आदि प्रमुख छन्।

गजलसँग सम्बन्धित उनका तीनवटा कृति प्रकाशित छन् भने ‘कसका लागि’ कथा सङ्ग्रह पनि प्रकाशित छ। यतिबेला हैदराबादको भ्रमणमा रहेका लामिछानेले बाल साहित्य अकादमी पुरस्कार प्राप्त भएकोमा हर्ष प्रकट गरे।

‘यो कृतिले अघिबाटै पुरस्कार पाउँछ भन्ने लागेको थियो। तर ढिलै भए पनि यो पुरस्कार प्राप्त भएकोमा आनन्दित छु’, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै भविलाल लामिछानेले भने।

यसैगरी, दार्जीलिङका चर्चित युवा साहित्यकार कर्ण विरहले आफ्नो कविता सङ्ग्रह ‘चर्किएको भुइँ’-लाई युवा साहित्य अकादमी पुरस्कार प्राप्त भएकोमा खुशी जाहेर गरे। यसका लागि उनले आफूलाई सधैं प्रोत्साहित र उत्साहित तुल्याउने पाठक, समालोचक, शुभचिन्तक, प्रकाशक तथा नेपाली भाषा परामर्श समितिका संयोजक र जुरीहरूहरूप्रति आभार व्यक्त गरे।

‘यो पुरस्कार मैले होइन, मेरा कविताहरूले पाएका हुन्’, विरहले भने। कविका रूपमा स्थापित उनका कृतिहरूमा ‘शब्द सम्मेलन’ (कविता, 2010), ‘भक्कानिएका भावनाहरू’ (गजल, 2011), ’रङ्गहीन तरङ्ग’ (संयुक्त रुबाई, 2012), ‘भाव/अभाव’ (कविता, 2013), ’चर्किएको भुइँ’ (कविता, 2014) र ‘डियर डोरेमन’ (कविता, 2019) रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here