
कालेबुङ, १५ जूनः सोमबार कालेबुङ आइपुगेका सांसद राजु बिष्टले यहाँका क्वारेण्टाइन सेण्टरहरूको भ्रमण गर्नका साथै कालेबुङ जिल्ला अस्पतालका सीएमओएचसँग पनि भेटवार्ता गरी यसबारे जानकारी लिए।
यस अवसरमा उनले जिल्ला प्रशासन र जीटीएलगायत भाजपाका सबै घटक दलले आ-आफ्नो तर्फबाट कार्य गरिरहेको बताए।
उनले जीटीए र राज्य सरकारले सक्दो कार्य गरिरहेको भए पनि अझ धेरै कार्यमा सुधार गर्न अत्यावश्यक रहेको बताए।
यसै गरी सांसद बिष्टले टिस्टा-रङ्गीतको सङ्गम त्रिवेणीमा रहेको टुरिस्ट लजलाई कोभिड अस्पतालमा रूपान्तर गरेकोमा जीटीएलाई बधाई दिँदै त्रिवेणी पवित्र स्थान रहेकोले त्यहाँ फोहोर प्रबन्धन राम्रो गरिनुपर्ने कुरामा जोड़ दिए।
“त्रिवेणी सङ्गम स्थानमा कोभिड अस्पताल बनाउँदैगरेको सुनेको छु। यो राम्रो कुरा हो। म जीटीए प्रशासनलाई बधाई दिन्छु। किनभने अहिलेको खाँचो कोभिड अस्पतालकै हो”, सांसदले थपे, “तर त्रिवेणी सङ्गम पवित्र स्थान हो। अहिले हाम्रो क्षेत्रका जति पनि सरकारी अस्पताल छन्, त्यहाँ फोहोर प्रबन्धन सटिक छैन। त्रिवेणीजस्ता पवित्र पर्यटक स्थानमा हामीले कोभिड अस्पताल बनाउँदा त्यहाँ सटिक फोहोर प्रबन्धनको व्यवस्था हुनुपर्छ।”
बिष्टका अनुसार यो समय भनेको राजनीतिक हिलोछेपाइ गर्ने समय होइन। सबैले मिलेर आ-आफ्नो कार्य गर्नु नै राम्रो हो। “यहाँ आरोप-प्रत्यारोप धेर हुन्छ, जनताका लागि काम कम्ती हुन्छ”, सांसदले थपे, “प्रशासन, जीटीए र राज्य सरकारले पनि आफ्नो काम इमान्दारीसँग गर्नुपर्छ। केन्द्र सरकार र सांसदले कुनै काम गर्नुपर्छ भने त्यो मलाई बताइदिऊन्, म गर्नेछु। अहिलेसम्म जे जति खाँचो देखें /बुझें, त्यसको मैले पूर्ति गर्ने काम गरिरहेको छु। आगामी दिनमा पनि गर्नेछु।”
यसअवधि उनले यदि केन्द्र सरकारको तर्फबाट प्राप्त नभए आफ्नै व्यक्ति खर्चमा पनि जाँच मशिन ल्याउनका लागि प्रतिबद्ध रहेका दाबी गरे। तर यसका लागि योग्य चिकित्सक र नर्सको व्यवस्था भने राज्य सरकारले गर्न अत्यावश्यक ठहर्छ।
अर्कोतिर उनले विमलपन्थी गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता रहेका बी.पी. बजगाइँको राजनीतिमाथि ‘अर्को पार्टीको आन्तरिक’ कुरा भन्दै कुनै प्रतिक्रिया व्यक्त गर्न चाहेनन्। तथापि आफ्नो जीतमा बी.पी. बजगाइँको ठूलो भूमिकालाई पनि स्वीकारे।
यसैगरी उनले भूमिगत अवस्थामा रहेका गोजमुमो पहिलो खेमाका अध्यक्ष विमल गुरूङ एण्ड टीम पहाड़ फर्किने दावी गरे।
सांसद राजु बिष्टको दावीका अनुसार कोभिड-१९ को महामारी नभएको भए कानुनी प्रक्रिया सकिएर विमल गुरुङ र अन्य पहाड़ फर्किसक्ने थिए।
अर्कोतिर उनले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानको मुद्दा अवश्यै समाधान हुने ठोकुवा गरेका छन्। बिष्टका दाबीका अनुसार उचित समयमा यो मुद्दा समाधान हुनेछ।
उनले सांसद निर्वाचित भएर शपथ दिएको पहिलो दिनदेखि दार्जीलिङ पहाड़का मुद्दाहरूलाई लिएर आफूले निरन्तर सांसदभित्र र बाहिर आवाज उठाइरहेको बताए।
सांसदको कालेबुङ भ्रमणअवधि कालेबुङकी विधायक सरिता राई, दार्जीलिङका विधायक नीरज जिम्बा, भाजपा दार्जीलिङका अध्यक्ष मनोज देवानलगायत अन्य पनि उपस्थित थिए।


