रियो डि जेनेरियो, 15 जूनः कोपा अमेरिकामा उपाधिका लागि दाबेदार मानिएको अर्जेन्टिना चिलीसँग 1-1 गोलको बराबरी खेलेको छ।
आज बिहानीपख निल्टन स्यान्डोस स्टेडियममा सम्पन्न यो खेलमा अर्जेन्टिनाले चिलीविरुद्ध निराशाजनक बराबरी खेलेको हो।
खेलको 33औँ मिनटमा फ्री किकद्वारा स्टार स्ट्राइकर लियोनल मेस्सीले उत्कृष्ट गोल गरी टिमलाई 1-0 को अग्रता त दिलाएका थिए। तर, यो अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग बराबरीमा रोकिएको हो।
चिलीका लागि एडुवार्डो भर्गासले खेलको 57औँ मिनटमा गोल गरी खेललाई बराबरीमा ल्याएका थिए।
खेलभरि अर्जेन्टिनाले 18 पटक चिलीको गोलपोस्टमा प्रहार गरेको थियो, जसमा केवल प्रहार 5 प्रहार ‘अनटार्गेट’ र बाँकी ‘अफटार्गेट’ रहेका थिए।
अर्कोतिर चिलीले अर्जेन्टिनाको गोलपोस्टमा 5 प्रहार गरेका थिए, जसमध्ये 4 प्रहार अनटार्गेट र एउटा प्रहार अफटार्गेट रहेका थिए।
अर्जेन्टिना र चिली समूह ‘बी’-छन्। यो समूहमा अन्य टिम, पाराग्वे, उरुग्वे र बोलिभिया छन्। आजै बिहान सम्पन्न अर्का खेलमा पाराग्वेले बोलिभियालाई 3-1 –को गोलअन्तरले पराजित गऱ्यो। यो जीतसँगै पाराग्वे समूह ‘बी’-मा शीर्ष स्थानमा उक्लेको छ।