गान्तोक, 15 जूनः सिक्किमका दुई विद्यार्थी रिसल पाण्डे र आदित्य छेत्री आउँदो 17 देखि 20 सेप्टेम्बरसम्म संयुक्त अरब अमिराद (यूएई)-को दुबईमा अवस्थित मेरियट अल जद्दाफमा आयोजन हुने अरब युथ इन्टरनेशनल मोडल युनाइटेड नेशन 2021 नामक अन्तरर्राष्ट्रिय सम्मेलनका लागि छनोट भएका छन्।
उनीहरूले यस अन्तर्राष्ट्रिय सम्मेलनमा भारतलाई प्रतिनिधित्व गर्ने बताइएको छ।
50 भन्दा अधिक देशका प्रतिनिधिले भाग लिने यस सम्मेलनमा विश्वका ज्वलन्त मुद्दासितै वर्तमान महामारीमाथि चर्चा हुनेछ।
विश्वभरका 10 हजार विद्यार्थीमध्ये रिसल र आदित्य पनि सम्मेलनका लागि चयनित भएका हुन्।
तादोङको होलीक्रस विद्यालयबाट माध्यमिक उत्तीर्ण गरेका यी दुवै विद्यार्थी सिलगढ़ीको दिल्ली पब्लिक स्कूलमा अध्ययनरत छन्।
यस सम्मेलन वैश्विक शान्तिका लागि युवाहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको अमेरिकाको ग्लोबलाइजेशन एलएलसी नामक सङ्गठनले आयोजन गरेको हो।
यस अन्तर्राष्ट्रिय सम्मेलनले सहभागी प्रतिनिधिहरूलाई विश्वव्यापी मुद्दाहरूमा बहस गर्नसितै सफल भविष्य निर्माणका लागि समाधान खोज्ने अवसर प्रदान गर्नेछ।
विश्वव्यापी मुद्दामा विश्वका प्रतिभाशाली युवाहरूसँग एक मञ्चमा बसेर छलफल गर्न पाउनु दुवैका लागि समृद्ध अनुभव हुने रिसल र आदित्यले बताएका छन्।