दार्जीलिङ, १५ जुलाई : विकास र संरक्षणको अभावमा सङ्कट झेलिरहेको विश्वप्रसिद्ध दार्जीलिङ हिमालयन रेलवेबाट युनेस्कोले ‘विश्व धरोहर’-को मान्यता खोस्नसक्ने खतरा देखापरेको छ। १४० वर्षको गौरवशाली इतिहास बोकेको दार्जीलिङको सानो रेलले सन् १९९९ –मा युनेस्कोबाट विश्व धरोहरको मान्यता पाएको थियो।
भारतीय रेलवेकोल तर्फबाट टोय ट्रेनको विकास र संरक्षणका लागि पर्याप्त कदम नउठाएकै कारण युनेस्कोले अहिले विश्व धरोहरको मान्यता फिर्ता लिने कुरामा विचार गरिरहेको बताइएको छ। युनेस्को हेरिटेज कमिटीको दाबीका अनुसार पटक पटक टोय ट्रेनको मरम्मती र संरक्षणका लागि नोटिस पठाउँदा पनि भारतीय रेलवेले २०१७ देखि २०१९ सम्म दार्जीलिङ हिमालयन रेलवेको कुनै मरम्मती गरेन।
यति मात्र होइन, रेलवेको जमिनमा अतिक्रमण, लीकमा फोहोर-मैलाजस्ता यावत समस्या डीएचआरले सहिरहेको छ, जुन युनेस्कोको गाइडलाइनका अनुसार हेरिटेज साइटको मान्यता दिने नियमविरुद्ध छ।
यद्यपि भारतीय रेलवे डीएचआरसम्बन्धमा जुन रिपोर्ट बुझाएको छ, त्यो रिपोर्टसँग युनेस्को सन्तुष्ट छैन। यसैले युनेस्कोले एक टीम पठाउने निर्णय गरेको छ। पछिल्लो साता अजरबैजानमा सम्पन्न वार्षिक सभामा युनेस्कोले दार्जीलिङ हिमालयन रेलवेबारे विशद् चर्चा गरेको बताइएको छ।