खरसाङ, १५ जुलाई : आइतबार राति निधन भएका वरिष्ठ साहित्यकार हायमनदास राई किरातको निधनमा गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले गहिरो शोक प्रकट गरेका छन्।
सोमबार बिहान एक विज्ञप्ति जारी गरी गुरुङले किरातको निधनमा शोक प्रकट गर्दै भनेका छन्, ‘हाम्रो जातिका गौरव एवं अग्रज स्रष्टा हायमनदास राई किरातको निधन भएको खबरले म आहत बनेको छु। उनको मृत्यु हाम्रो जातिका लागि एक अपूरणीय क्षति हो।’
विज्ञप्तिमा उनले थप भनेका छन्, ‘साहित्य अकादमी पुरस्कारले सम्मानित उनको कृति केही ‘नमिलेका रेखाहरू’ नेपाली साहित्याकाशमा सधैँ उज्ज्वल तारा भई चम्रिरहनेछ। उनी बित्नु भए पनि उनको कृति-यश र सामाजिक कार्यहरू कहिल्यै मर्नेछैनन्। उनी हामीमाझ यी माध्यमहरूद्वारा अजर अमर रहनेछन्।’
गुरुङले सम्पूर्ण गोर्खा जातिको पक्षबाट साहित्यकार किरातप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।