घोषको गोर्खाल्यान्डविरोधी बयानप्रति विष्ट र जिम्बाले स्पष्टीकरण दिनुपर्छ : विनय

0
1167
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, १५ जुलाई : भारतीय जनता पार्टी गोर्खाहरूको संवैधानिक सुरक्षा र गोर्खाल्यान्डप्रति रतिभर इमानदार नरहेको र गोर्खाहरूलाई केवल भोट ब्याङ्कको रूपमा प्रयोग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आरोप लगाएका छन्।

भाजपा गोर्खा र गोर्खाल्यान्डप्रति इमानदार नरहेको कुरालाई हिजो प्रदेश भाजपा अध्यक्ष दिलीप घोषले दिएको बयानले प्रमाणित गर्ने तामाङले बताएका छन्। यसका साथै उनले घोषको बयानप्रति गोजमुमोले तीखो शब्दमा आपत्ति जनाउने बताएका छन्।

उल्लेखनीय छ, आइतवार डुवर्सको नगरकटामा भाजपाको एक कार्यक्रममा सामेल हुन आइपुगेका भाजपा प्रदेश अध्यक्ष घोषले भाजपाको मुद्दा गोर्खाल्यान्ड नरहेको बताएका थिए। घोषको यसै बयानलाई तामाङले आपत्ति जनाएका हुन्।

‘हामीले लामो समयदेखि अस्तित्व र चिनारीका लागि सङ्घर्ष गर्दै आएका छौं। यसै क्रममा भाजपाले हाम्रो मुद्दाप्रति सकारात्मक पहल गर्ने भरोसा राखेर एक दशकदेखि हाम्रो समर्थन पाउँदै आएको छ। यसै मुद्दाप्रति देखाएको भरोसाको आधारमा नै यसचोटि लोकसभा र विधानसभाको उपचुनाउ पनि जितेको हो’, विनयले भनेका छन्, ‘तर आज आएर भाजपाका राज्य अध्यक्षले जुन प्रकारको वक्तव्य दिएका छन्, यसले भाजपाको गोर्खाप्रति रहेको दृष्टिकोण र नियतलाई छर्लङ्ग पारेको छ। हामीले भाजपाको नियत बुझेरै पहाड़मा व्यावहारिक राजनीति गर्ने परम्परा शुरु गर्नुपर्छ भन्दै आएका छौं। जुन कुरा शतप्रतिशत सत्य रहेको कुरा आज दिलीप घोषको वक्तव्यले स्वतः प्रमाणित गरेको छ।’

विनयका अनुसार दिलीप घोषको बयान भाजपालाई प्राप्त जनाधारको सोझो अपमान हो। ‘गोर्खाल्यान्डप्रेमी इमानदार जनताको भावनामाथि यसरी खेलाइँची गर्नु अब भाजपाले पाउने छैन’, उनले भनेका छन्, ‘गोर्खाल्यान्डको सपना देखाएर भोट जित्ने भाजपाका राज्य अध्यक्षले गोर्खाल्यान्डको विरोधमा मन्तव्य व्यक्त गर्नु  भनेको पहाड़लगायत सम्पूर्ण गोर्खाल्यान्डप्रेमीहरूको भावनालाई नै आघात पुऱ्याउनु हो।’  यसका साथै उनले भोट जितेको दुई महिना पनि पूरा नभई दार्जीलिङ पहाड़लगायत देशका गोर्खाहरूमाथि भाजपाले घात गरेको आरोप लगाएका छन्।

अर्कोतिर विनयले दिलीप घोषको यसप्रकारको गोर्खाल्यान्डविरोधी बयानप्रति सांसद राजु विष्ट र विधायक नीरज जिम्बाले स्पष्टीकरण दिनुपर्ने बताएका छन्। ‘राजु विष्टले महाकाल बाबाअघि गोर्खाल्यान्ड ल्याउने कसम खाएर भोट मागेका हुन्। जनताले पनि गोर्खाल्यान्डकै लागि भोट दिएका हुन्। विष्टले अब आफ्नो नैतिक जिम्मेवारी पूरा गर्नुपर्छ’, गोजमुमो दोस्रो खेमाका अध्यक्ष तामाङले थप भनेका छन्, ‘सामान्य कुरामा समेत राजनीतिक गर्ने विष्ट गोर्खाल्यान्डजस्तो मुद्दाप्रति दिलीप घोषले दिएको बयानप्रति किन मौन छन्? भाजपाको दोहोरो नीति अब जनताले सहन गर्ने छैन।’

विज्ञप्तिमा विनय विधायक नीरज जिम्बाप्रति पनि आक्रामक देखिएका छन्। घोष बयानप्रति जिम्बाले स्पष्टीकरण दिनुपर्ने उनको भनाइ छ। ‘जिम्बाले पनि भाजपामा सामेल भएर गोर्खाल्यान्डको कुरा गरेरै भोट जितेका हुन्। तर, हालै सम्पन्न विधानसभा सत्रअवधि उनले गोर्खाल्यान्डको कुनै आवाज उठाएनन्’, विनयले भनेका छन्, ‘यदि उनी गोर्खाल्याण्डप्रति साँच्चै इमानदार छन् भने भाजपासितै विधायक पदबाट समेत राजीनामा दिनपर्छ। जिम्बा गोर्खाल्यान्डप्रति अडिग छन् भने भाजपासितको सम्बन्ध कुन आधारमा कायम राख्न चाहन्छन् त्यो पनि झट्ट स्पष्ट पारुन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here