दार्जीलिङ, 15 जुलाईः गोजमुमो दुईका अध्यक्ष पदसँगै साधारण सदस्यबाट राजीनामा दिने विनय तामाङको निर्णयलाई विमल गुरुङले स्वागत गरेका छन्।
विमलका अनुसार विनयले सटिक निर्णय गरेका छन्।
साथै राजीनामाको घोषणा गर्दै विनय तामाङले “गोजमुमोका असली मालिक विमल गुरुङ हुन् अनि असली मालिक आएपछि पार्टीको झण्डाको रक्षा गर्ने मेरो दायित्व पूरा भएको छ“ भनी दिएका बयानलाई पनि गुरुङले स्वागत जनाए।
विनयले स्पष्टसँग कुरा राखेर विमल खेमा र विनय खेमा गोजमुमो’-मा रहेको अन्योल हटाएको उनको भनाइ छ। किनभने अबउसो गोजमुमो दुईलाई विनयखेमा मोर्चा भनेर चिनिनेछैन।
एक प्रश्नको उत्तरमा विनय तामाङ गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का संस्थापक सदस्यमध्ये एक रहेकाले यदि पार्टीमा पुनः फर्केर आउन चाहेमा स्वागत गर्ने पनि विमल गुरुङले स्पष्ट पारे। “राजनीतिमा दुश्मनी पनि हुँदैन मित्र पनि। हामी हिजोका दिनमा पनि मिलेर काम गर्न सक्षम भएका थियौँ”, उनले थपे, “गल्ती कसको हुँदैन। सबैको हुन्छ। यो गल्तीलाई कर्मले सुधार्न पर्नेछ। म उनलाई स्वागत गर्छु।”