![]() |
पूजा बोनसलाई लिएर कोलकाताको च्याम्बर अफ् कमर्समा बसिएको द्विपक्षीय बैठक। |
दार्जीलिङ, 15 सेप्टेम्बर : दार्जीलिङ, तराई-डुवर्सका चियाकमानका श्रमिकहरूलाई दिइने पूजा बोनसलाई लिएर सोमवार कोलकाताको च्याम्बर अव् कमर्समा मालिक पक्ष र श्रमिक सङ्गठनबीच बैठक सम्पन्न भयो। बिहान 11 बजीदेखि बैठक शुरु भएको बैठकको पहिलो दिन आज बोनसको दरलाई लिएर चर्चा भएको थियो।
बैठकमा उपस्थित रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –का नेता वाई लामाका अनुसार आज पहिलो दिनको बैठकमा मालिकपक्षले आफ्नो कुरा राखेका थिए।
चियाकमानको अवस्था अत्यन्त खराब रहेको र आयआर्जनमा ह्रास आएको तर्क अघि सारेर मालिकपक्षले चियाकमानलाई ए, बी र सी वर्गमा वर्गीकृत गरी पूजा बोनस दिने अड़ान राखेको थियो, तर यसलाई सबै श्रमिक सङ्गठनले विरोध गरी 20 प्रतिशतको दरले पूजा बोनस दिनुपर्ने मागबाट पछि नहटेपछि पहिलो दिनको बैठक चर्चा परिचर्चामै सकिएको उनको भनाइ छ।
वाई लामाले बताएअनुसार बैठक बेलुकी प्रायः 5:30 सम्म चलेको थियो।
प्राप्त जानकारी अनुसार भोलि पुनः बैठक बसिनेछ, जसमा 20 प्रतिशतको दरले पूजा बोनस दिन मालिकपक्ष सहमत हुने कुरामा सबै श्रमिक सङ्गठन विश्वस्त छन्।
चियाकमानलाई वर्गीकृत गरी पूजा बोनस दिने मालिकपक्ष कुरालाई हामी सबै श्रमिक सङ्गठनले अस्वीकार गरेका छौं। सबै चियाकमानले समान 20 प्रतिशतको दरले पूजा बोनस पाउनुपर्ने हाम्रो माग छ। तराई-डुवर्स र दार्जीलिङका सबै चियाकमानले 20 प्रतिशत नै पूजा बोनस पाउनुपर्छ।