दार्जीलिङको शान्ति श्मशानघाटको शान्तिजस्तै हो : विमल गुरुङ

0
1593
गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङ (फाइल फोटो)।

पछिल्लो गोर्खाल्यान्ड आन्दोलनपछि राज्य सरकारको पक्राउबाट बाँच्नका लागि भूमिगत भएका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङको प्रासङ्गिकता र उपस्थितिको चर्चा  दार्जीलिङको राजनीतिमा उस्तै छ। समय समयमा अज्ञात स्थानबाट प्रेस विज्ञप्ति र अडियो जारी गरी गुरुङले आफ्नो राजनीतिक अस्तित्वलाई बचाइराखेका छन्। उनै विमल गुरुङसँग इन्डिया टुडेका लागि रोमिता दत्तले इन्टरभ्यु लिएकी छन्। यो इन्टरभ्युमा उनले आफ्नो र पार्टीको विगत, वर्तमान र भविष्यबारे धेरै कुरा खोलेका छन्। अतः 14 सेप्टेम्बर अर्थात् शुक्रवार प्रकाशित यो इन्टरभ्युको भावानुवाद जनसंवादका पाठकहरूका लागि यहाँ प्रस्तुत छ-
प्रश्न :  तपाईं लुकिरहनु भएको छ, उता विनय तामाङले जीटीए र गोजमुमोलाई आफ्नो नियन्त्रणमा लिएका छन् नि?
उत्तर :  विनय तामाङको आफ्नै जीवन र विचारमाथि नियन्त्रण छैन। उ कठपुतली हो, जसलाई कोलकाताले नचाउँदैछ। म लुकेको छुइनँ, तर केन्द्रले दिएको वचन त्रिपक्षीय वार्ता नभएसम्म लोप्रोफाइल (मौन) बसेको हुँ। जनता मसँगै छ। कहाँसम्म भने राज्यको गुप्तचर रिपोर्टले पनि 70 प्रतिशत जनताले मलाई समर्थन गरिरहेको बताएको छ।
प्रश्न  : फेरि लोकसभा चुनाउ नजिकमा आउँदैछ नि?
उत्तर : मैले सत्तामा बस्नका लागि कहिले राजनीति गरिनँ। जनताको सपनालाई पूरा गर्नका लागि गोजमुमो स्थापना भएको हो। र त्यसका लागि म सधैँ प्रतिबद्ध छु। वार्ता शुरु होस्, जसले पहाड़मा लोकतन्त्र फर्काउनका लागि वातावरण सिर्जना गरोस्।
प्रश्न :  तपाईं नयाँ पार्टीमा सवार भएर पारि तर्नेसक्ने कुरा भइरहेको छ। यसो गर्नुहुन्छ या मूल गोजमुमोका लागि दाबी गर्नुहुन्छ?
उत्तर : म केही दाबी गर्दिनँ। राज्यले उनीहरू (विनय तामाङहरू)-लाई समर्थन र टेवा दिइरहे तापनि सबैलाई थाहा छ गोजमुमोलाई म नै प्रतिनिधित्व गर्छु। कसलाई हामी समर्थन गर्छौं अहिले नै भनिहाल्नु  छिट्टो हुनेछ। हामी भाजपासँग छौं।
प्रश्न : भाजपालाई समर्थन गर्नका लागि तपाईंहरूको शर्त के छ?
उत्तर : हामी एकलो चुनाउ लड़्ने अथवा गठबन्धनसँग गर्नेछौं भन्नेबारे अहिले नै निर्णय लिएका छैनौं। हाम्रो केन्द्रिय कमिटीले यसबारे निर्णय लिनेछ। मैले युवा अवस्थामा जे जस्ता समस्याहरू भोगे, त्यस्ता समस्या र कष्टहरू मेरो क्षेत्रका गोर्खा, आदिवासी, राजवंशी, बङ्गाली, बिहारी र अन्य समुदायका गरीब नानीहरूले भोग्न नपरोस् भनेरै म यहाँ छु।
प्रश्न : के राज्य सरकारसँग शान्ति बहालीका लागि कुनै बाटो छ?
उत्तर : हामीले कहिले पश्चिम बङ्गाल सरकारसँग लड़ाइँ गरेनौं। गोर्खाल्यान्ड मुद्दामा दुई बेग्लै विचार भएका हामी दुई राजनीतिक दल हौं। राजनीतिमा वार्ता अनिवार्य छ। हामी केन्द्र र राज्यसँग त्रिपक्षीय वार्ताका लागि तयार छौं। कुरा के हो भने राज्यले त्रिपक्षीय वार्तालाई अस्वीकार गरिरहेको छ।  
 प्रश्न : ममताले सिक्किमसँग शान्तिपूर्ण र राम्रो सम्बन्ध बनाएकी छन्। के तपाईंले मुख्यमन्त्री पवन चामलिङको रूपमा मित्र गुमाउनु भयो?
उत्तर : ममता ब्यानर्जी चामलिङसँग मित्र हुनसक्छिन्, तर सिक्किम र दार्जीलिङका मानिसहरू एक परिवारका सदस्यहरू जस्ता हुन्। हामीले आवश्यकता परेको समयमा सिक्किमले जहिल्यै सहयोग गरेको छ।
प्रश्न : जीटीएमा आएको पैसालाई तपाईंले धाँधली गरेको राज्यको आरोप छ नि ?
उत्तर : राज्यले तीनपटक अडिट गरायो, केही पाएन। हामीलाई थोरै रुपियाँ प्रदान गरिएको थियो, त्यसबाट हामीले एक पैसा पनि दुरुपयोग गरेनौं। म चाहन्छु, क्यागबाट स्पेशल अडिट गरियोस्। म विश्वस्त छु, जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर गठन भएयता रुपियाँ धाँधली भएको पाउनेछ, त्यसअघिको जीटीएमा पाउनेछैन।
प्रश्न : तर अहिले पहाड़ शान्तिपूर्ण छ नि ?
उत्तर :  पहाड़का मानिसहरू सधैँ शान्ति चाहन्छन्। यसका लागि उनीहरू प्रयासरत् रहन्छन्। पहाड़मा पछिल्लो हिंसा पश्चिम बङ्गाल सरकारका विभिन्न एजेन्सीद्वारा फैलाइएको थियो।  आज पनि हजारौं मानिसहरू पक्रा पर्ने डरले आफ्नो घर फर्किन सकिरहेका छैनन्। यो शान्ति होइन। यो शान्ति श्मशानघाटको शान्तिजस्तै हो। आपत्काल जस्तै। फेसबुकमा कमेन्ट र पोस्ट लेख्दै मानिसहरू पक्रा पर्दैछन्। दार्जीलिङ चारवटा देशको सीमाले घेरिएको छ। रोहिङ्ग्या र अवैध बङ्ग्लादेशीहरूलाई दार्जीलिङका विभिन्न क्षेत्रमा स्थापित गरिइने कार्य हुँदैछ। राज्य सरकार आगोसँग खेल्दैछ,  केन्द्र पनि यसबाट अवगत छ।
प्रश्न :  तृणमूल कङ्ग्रेसबाट मित्रताको कुनै प्रस्ताव तपाईं ले प्राप्त गर्नु भयो?
उत्तर : (हाँस्दै) तृणमूल कङ्ग्रेसले यो तनाउलाई कम्ती गर्नका लागि कुनै प्रकार प्रयास गरेको छैन। तृणमूल कङ्ग्रेस एउटा राजनीतिक दल हो, भोलि यो राजनीतिक दल रहन पनि सक्छ, नरहन पनि सक्छ। सीपीआईजस्तै, जसले सन् 1986-मा पहाड़मा हिंसा फैलाएर आतङ्क मच्चाएको थियो। म के भन्न खोजिरहेको छु भने एकाअर्काले परस्परको मूल्य मान्यता र विचारलाई सम्मान गरे मात्र मित्रता सम्भव छ।
साभार  : इन्डिया टुडे, अन्तर्वार्ताकार  : रोमिता दत्त, अनुवाद  : शैलेन्द्र समदर्शी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here