तेस्रो चरणको बोनस बैठक पनि विफल

0
1122
चियाकमान।

दार्जीलिङ, १५ सेप्टेम्बर : चियाश्रमिकहरूको बोनसलाई लिएर शनिवार दार्जीलिङ टी एसोसिएशन (डीटीए)-को कार्यालयमा बसेको तेस्रो चरणको बैठक पनि विफल बनेको छ। बोनस प्रतिशत नमिलेपछि बैठक विफल बनेको बताइएको छ।

जानकारीका अनुसार मालिकपक्ष र  श्रमिक सङ्गठनहरू आ-आफ्नै अड़ानमा अडिग छन्। यसैबीच मालिकपक्षले अनावश्यक बहाना बनाएर धेरै कम्ती दरमा बोनस दिन खोजिरहेको र बैठकलाई पछि पछि सार्दै लगिरहेको जोइण्ट फोरमले बताएको छ।

‘हामी 20 प्रतिशतभन्दा कम्ती दरको बोनस नथाप्ने निर्णय गरेका छौं। पोहोर १०४ दिने बन्दले उत्पादन घट्दा १५ प्रतिशत बोनस दिनसक्ने मालिकपक्षले यसवर्ष उत्पादन, मूल्य दुवै बढ़्दा कुन आधार ८.३३ प्रतिशतको कुरा गर्दैछ? यो न्यायसङ्गत छैन’, जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले भने, ‘बरु दशैं मनाउने छैनौं। तर, २० प्रतिशतभन्दा कम्ती दरको बोनस थाप्ने छैनौं। यसका लागि जस्तै आन्दोलन गर्न परे हामी तयार छौं।’

मालिकपक्षको कुरासँग श्रमिक सङ्गठनहरू सहमत नरहेको पनि उनले बताएका छन्। त्यसैगरी उत्पादन र निर्यात घटेको कुरालाई पनि फोरमले झूटो बताएको छ। पोहोर सालको भन्दा यस वर्ष उत्पादन, निर्यात र मूल्य सबै बढ़ेको फोरमको दाबी छ।

‘यस वर्ष मात्र होइन, मालिकपक्षले जहिल्यै बोनस दिनुपर्ने बेला विभिन्न बहाना बनाउँछ। अरूबेला नदेखाएका समस्याहरू मालिकपक्षले बोनसकै बेला देखाउने गर्छ’, राईले थपे, ‘मालिकपक्षले जे जति नै बहाना देखाउन्, तर २० प्रतिशत दरमै बोनस दिएको हुनुपर्छ। योभन्दा कम्ती दरको बोनसलाई हामी स्वीकार गर्नेछैनौं।’

राईका अनुसार हिजोको बैठकमा मालिकपक्षले चियाको गुणात्मकतालाई हेरेर ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ वर्गमा वर्गीकृत गरी बोनस दिने प्रस्ताव राखेको थियो। तर, यसलाई सबै श्रमिक सङ्गठनहरूले खारेज गरी सबै चियाकमानलाई २० प्रतिशतको दरले बोनस दिनुपर्ने मागलाई दोहोऱ्याएका थिए। हिजोको बैठकमा बन्सल कम्पनीबाट एकैजना पनि प्रतिनिधि उपस्थित रहेको पनि उनले बताएका छन्।

‘जुन कम्पनीको पहाड़मा १४ वटा चियाकमान छ, त्यसै कम्पनीका एकैजना प्रतिनिधि पनि बोनस बैठकमा उपस्थित नहुनु आश्चर्यको कुरा हो’, जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले भने। यसै आउँदो बैठकमा बन्स कम्पनीका प्रतिनिधिहरू पनि उपस्थित हुनुपर्ने श्रमिक सङ्गठनहरूले माग गरेका छन्।

स्मरणरहोस्, अहिलेघरी पहाड़मा सबैभन्दा बढ़ी बन्सल कम्पनीकै चियाकमानहरूमा धेर समस्या देखिने गरेको छ। हिजो तेस्रो चरणको बैठक पनि विफल भएपछि अब अर्को बैठक कहिले डाकिने हो, त्यो अहिले नै निश्चित भएको छैन। श्रमिक सङ्गठनहरूले जतिसक्दो चाँड़ो बैठक डाक्नुपर्ने माग गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here