एनआरसीसँग डराउनुपर्ने कुनै कामै छैन : रोशन गिरी

0
2102
रोशन गिरी (फाइल फोटो)।

दार्जीलिङ, 15 सेप्टेम्बर : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका महासचिव रोशन गिरीले  राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-सँग गोर्खाहरू डराउनुपर्ने कुनै कामै नरहेको दाबी गरेका छन्।

आइतवार एक भिडियो जारी गरी गिरीले यस्तो दाबी गरेका छन्। एनआरसीले खाँटी भारतीय को हुन्? को होइनन्? भन्ने कुरा छुट्टाउने भएकोले गोर्खाहरू डराउनुपर्ने कामै नरहेको उनको भनाइ छ।

‘हामी काँड़े तार छिरेर आएका होइनौं। सीमा नाघेर पनि आएका होइनौं। सीमाले उल्टा नाघेर हामीलाई ल्याएको हो। हामी यहाँका इण्डिजिनियस नागरिक हौं’, उनले थप भनेका छन्, ‘गोर्खा, राजवंशी, आदिवासी, टोटो, मेचे र बङ्गाली आदि दार्जीलिङ, तराई अनि डुवर्सका रैथाने हुन्। हामी रोहिङ्या र अवैध बङ्ग्लादेशी हौं र एनआरसीबाट डराउनु?’

गिरीले असमका चियाकमानहरूमा काम गर्ने नागरिकहरूलाई ओरिजिनल इनह्याभिटेन्स (मूलनिवासी) घोषित गरी कुनै कागज-पत्रको जाँच नै नगरी एनआरसीमा सम्मिलित गरेजस्तै भोलिको दिनमा बङ्गालमा एनआरसी लागू भएको खण्डमा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका गोर्खा, आदिवासी, राजवंशी, बङ्गाली, कोचे, मेचे, टोटो आदिलाई पनि मूलनिवासी घोषित गरी स्वतः एनआरसीमा सम्मिलित गर्नुपर्ने माग गरेका छन्।

 यसका साथै बङ्गालमा एनआरसी लागू भएको खण्डमा पहाड़का चियाकमान, सिन्कोना र वनबस्तीका मानिसहरूले मूल निवासीको माग गर्नुपर्ने मोर्चा पहिलो खेमाका महासचिवको भनाइ छ।

अर्कोतिर, उनले नागरिक संशोधन बिलले पनि गोर्खाहरूलाई फाइदा पुग्ने बताएका छन्। जसको कारण पनि एनआरसीबाट गोर्खाहरू छुटिन्छन् भनेर डराउनुपर्ने कुरै नरहेको गिरीको दाबी छ।
‘हामीले एनआरसीको विरोध होइन, स्वागत गर्नुपर्छ। एनआरसीमाथि राजनीति हुनुहुँदैन’, उनले भने।  यसैगरी यदि असमको इतिहास निर्माणमा असमेली गोर्खाहरूको पनि ठूलो योगदान रहेकोले यदि छुटेका गोर्खाहरूलाई कुनै सहयोग चाहेको खण्डमा गोजमुमो तयार रहेको पनि रोशन गिरीले बताएका छन्। साथै उनले भोट ब्याङ्कलाई हेरेर ममता ब्यानर्जीले एनआरसीको विरोध गरिरहेको र उनलाई नै पछ्याएर गोजमुमो दोस्रो खेमाले पनि एनआरसीकै विरोध गरिरहेको थप बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here