कोचबिहार, १५ सेप्टेम्बर : कोचबिहार जिल्लाको दिनहाटास्थित भेटागढ़ीमा पुलिसको वाहनमाथि गोलीबारी गरेको घटनाले त्यहाँको माहोल तनाउपूर्ण भएको छ। जानकारीका अनुसार उक्त घटना शनिवार अबेर राति भएको हो। यो घटनापछि बाक्लो सङ्ख्यामा पुलिस बल तैनाथ गरिएको छ।
शनिवार अबेर राति करिब ११:३० बजे पुलिसको गाड़ीलाई लक्षित गरी गोली चलाइएको बताइएको छ। यद्यपि गोली वाहनको अघिल्तिर ऐनालाई छेड़ेर गएको कारण ज्यानमालको ठूलो क्षति भने भएको छैन। घटनाबारे जानकारी पाएलगत्तै दिनहाटामा बाक्लो सङ्ख्यामा पुलिस बल तैनाथ गरिएको छ। साथै उक्त क्षेत्रलाई घेराबन्दी गरी तलाशी अभियान चलाइँदैछ।
स्थानीय सूत्रका अनुसार राति करिब ११ बजे केही मानिस भेटागढ़ी चोकअघि जमा भएका थिए। केही समयपछि पुलिसको वाहन कोचबिहारबाट दिनहाटातर्फ गइरहेको समय भेटागढ़ी चोकमा भीड़ देखेर वाहन रोकियो। ठीक त्यसै समय पुलिसको उक्त वाहनमाथि गोली चलाइयो। जानकारीका अनुसार तृणमूल कङ्ग्रेसको ऱ्यालीलाई केन्द्रित गरी त्यहाँ भाजपा र तृणमूल कङ्ग्रेसबीच सङ्घर्ष भएको थियो। यसपछि पुलिसले अबेर राति तलाशी अभियान चलाएर भाजपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।
आफ्ना दुई कार्यकर्तालाई पक्राउ गरेकोमा भाजपाले पुलिसको भूमिकामाथि प्रश्न तेर्साएको छ। ‘हाम्रो पार्टीले नै भेटागढ़ीमा हमला हुने आशङ्का छ भने भनेर पुलिसलाई टेलिफोनिक रूपमा जानकारी दिएको हो’, भाजपा कोचबिहारका अध्यक्ष मालती राभाले थपिन्, ‘तर पुलिसले उल्टै हाम्रै दुई कार्यकर्तालाई पक्राउ गरेको छ।’