-जीतेन्द्र खवास
खरसाङ, १५ सेप्टेम्बर : सिटोङ भेकका ऊर्जाशील युवा स्रष्टा लाडुप रोङकपकृत भुरा कविता (कविता सङ्ग्रह)-को आइतवार एक साहित्यिक कार्यक्रमबीच विमोचन गरियो।
स्रष्टा रोङकपकै गाउँ लङ्कु भेल्लीमा आयोजित एक कार्यक्रमबीच आज उक्त कविता सङ्ग्रह विमोचन गरिएको हो। कार्यक्रमलाई वरिष्ठ साहित्यकार कालुसिंह रनपहेंलीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार मोहन ठकुरी थिए। यसैगरी कार्यक्रममा रतन थापा, विष्णु ठकुरीआदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा विमोचित कृति भुरा कवितामाथि युवा साहित्यकार नीरज थापाले समीक्षात्मक टिप्पणी राखे। उनले यो कृतिमा कविले नयाँ कुरा दिन खोजेकोले छोटो आयामका छरिता कविताहरूले पाठकहरूलाई नयाँ स्वाद दिने विचार पोखे।
कार्यक्रममा साहित्य र सङ्गीतको सङ्गम जमेको थियो। जसअन्तर्गत सिटोङ भेकका युवा सङ्गीतकार/गायकद्वय किशोर राई र प्रणय गुरुङलगायत अन्य उदयीमान कलाकारहरूले गीत प्रस्तुत गरेका थिए भने मिलन राई ‘रोगी’, नितेश राई, बुनु शर्मा, सेवन सुब्बा, जीतेन्द्र खवास, मिलन प्रधान, आनन्द आकाश, मोहन ठकुरी र कालुसिंह रनपहेंलीले कविता-कथा आदि सुनाएका थिए। कार्यक्रमलाई कथाकार प्रकाश हाङखिमले सञ्चालन गरेका थिए।
उल्लेखनीय छ, सिटोङ-तीनअन्तर्गत लङ्कु भेल्लीनिवासी लाडुप रोङकप माझिएका कवि हुन्। यसभन्दा अघि उनको देशभित्र देश खोज्दैछु (२००१) र आँखा (२०१६) कविता सङ्ग्रह प्रकाशित छन्।