दार्जीलिङ, १५ सेप्टेम्बर : राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-ले पहाड़को इस्कुससमेतलाई छुँदैन भन्ने आफ्नो अड़ानलाई दोहोऱ्याउने दार्जीलिङका विधायक नीरज जिम्बाले गोर्खालाई एनआरसीबाट होइन, तर राज्यको शासक दल तृणमूल कङ्ग्रेसबाट ठूलो खतरा रहेको बताएका छन्।
आइतवार दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यसका साथै जिम्बाले एनआरसीसँग दार्जीलिङ पहाड़ या बङ्गालका गोर्खाहरू अलिकति पनि डराउनु नपर्ने दाबी गरे। यसअवधि उनले एनआरसीले बङ्गालका गोर्खालाई एनआरसीले अलिकति पनि असर गर्ने आफ्नो दाबीलाई दोहोऱ्याए। जिम्बाका अनुसार एनआरसीलाई लिएर गोर्खाहरूले सुर्ता नै गर्नुपर्ने छैन।
उल्लेखनीय छ, विधायक नीरज जिम्बा र सांसद राजु विष्टसँग केही दिनअघि असम गएका थिए। असमबाट फर्केपछि उनले आज एनआरसीलाई लिएर पत्रकारहरूलाई सम्बोधन गरेका हुन्। एनआरसीबाट गोर्खाको नाम छुट्नु एउटा गम्भीर विषय भए तापनि आउँदो दिनमा यो समस्या पूर्णरूपले समाधान भएर जाने पनि कुरा पनि जिम्बा आज विश्वस्त देखिए।
यी विधायकले भने, ‘असमका गोर्खाहरूको नाम एनआरसीबाट छुटेको विषय लिएर हामीले असमका मुख्यमन्त्रीसित भेट गरेका थियौं। मुख्यमन्त्री कार्यालयबाट करिब 55,000 गोर्खाको नाम एनआरसी सूचीबाट छुटेको जानकारी गराइएको छ।’ यति मात्रै होइन, असमका मुख्यमन्त्रीले एकजना पनि असमेली गोर्खा नडराउने अपील गर्दै कतिपय दस्तावेजको अभावको कारण यस्तो भएको हो भन्ने उनले बताए।
‘बङ्गालका गोर्खा एनआरसीलाई एनआरसीको कुनै खतरा छैन, यहाँ गोर्खालाई तृणमूल कङ्ग्रेसको खतरा छ। यो कुरा सम्पूर्ण गोर्खा जातिले बुझ्नपर्छ’, उनले थपे, ‘यदि बङ्गालमा एनआरसी लागू भए पनि यहाँका सम्पूर्ण गोर्खाको नाम एनआरसी सूचीमा अन्तर्भुक्त हुनेछ अनि यो भारतीय गोर्खामाथि लाग्ने गरेको विदेशीको लाञ्छनाबाट सधैँका लागि मुक्त हुने सुनौलो अवसर पनि हो।’
जिम्बाका अनुसार आज ढाँडमा तारको चोट बोक्ने बङ्ग्लादेशी अनुप्रवेशकारीहरू एनआरसी लागू भए आफ्नो नाम पनि यसमा अन्तर्भुक्त हुन्छ भनेर रमाउँदैछन्। ‘तर माटोसितै आउने गोर्खा किन डराउनु? यसप्रकारको डरले दिल्लीमा पनि सकारात्मक सन्देश पुग्दैन’, जिम्बाले थपे, ‘यसैले दार्जीलिङ पहाड़ वा बङ्गालका गोर्खाहरू एनआरसीसित अलिकति पनि डराउने काम छैन।’
अर्कोतिर, विनय तामाङपन्थी गोजमुमोले एनआरसीलाई लिएर पहाड़मा भावनात्मक राजनीति गरिरहेको पनि उनले आरोप लगाए। विधायकले भने, ‘गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले एनआरसीको विरोधमा सर्वोच्च न्यायालय जाने कुरा गरिरहेका छन्। तर, असममा एनआरसी लागू गर्ने नै सर्वोच्च न्यायालय हो। उनले यो कुरा किन बुझ्न चाहँदैनन्।’
राजनीतिक रोटी सेक्नका लागि मात्रै विनयपन्थी गोजमुमोले पहाड़मा एनआरसीको राजनीति गरिरहेको पनि उनले थप आरोप लगाए। एक प्रश्नको उत्तरमा जिम्बाले भने, ‘देशका वर्तमान गृहमन्त्री अमित शाहले अघिबाटै धेरैवटा ठूल्ठूला जनसभाबाट गोर्खा समुदाय एनआरसीसित डराउनु पर्दैन भनिसकेका छन्। यसैले किन डराउनु?’