कोनराड साङ्माद्वारा गृहमन्त्रीलाई पत्राचारः गोर्खाहरूको जनाकांक्षा पूरा गरिदिन अनुरोध

0
1061
(फाइल फोटो)

दार्जीलिङ, 15 सेप्टेम्बरः मेघालयका मुख्यमन्त्री एवं सत्तारूढ़ नेशनल पीपल्स पार्टीका राष्ट्रिय अध्यक्ष कोनराड के. साङ्माले केन्द्रीय गृहमन्त्री अमित शाहलाई भारतीय गोर्खाहरूको दीर्घलम्बित संवैधानिक माग छुट्टै राज्य गोर्खाल्याण्डलाई पूरा गरिदिन अनुरोध गरेका छन्।

पछिल्लो 4 सेप्टेम्बरका दिन पार्टीका राष्ट्रिय अध्यक्षको हैसियतले केन्द्रीय गृहमन्त्रीलाई लेखेको पत्रमा साङ्माले भनेका छन्-गोर्खाहरूका लागि छुट्टै राज्य गोर्खाल्याण्डको रूपमा दीर्घलम्बित संवैधानिक मागबारेमा तपाईं राम्रोसित अवगत हुनुहुन्छ। गोर्खाहरूले भारतलाई धेरै समयपहिले आफ्नो घर मानिसकेका छन्। गोर्खाहरूले आफ्नो मातृभूमि भारतका लागि प्रचुर योगदान पुऱ्याएका छन् तथा यस देशको सुरक्षाका खातिर चरम उत्सर्गहरू गरेका छन्। महान् स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्लको शहादतले देशमा त्यतिखेर उच्चतम सम्मान प्राप्त गऱ्यो, सन् 2004 –मा जतिखेर भारतको संसद भवन परिसरमा उहाँको सालिग स्थापना गरियो।

उनले पत्रमा थप लेखेका छन्-डम्बरसिंग गुरुङ अनि अरिबहादुर गुरुङ भारतको संविधानसभाका सदस्यहरू थिए भने अरिबहादुर गुरुङले भारतीय संविधानको गृहित प्रारूपमा हस्ताक्षर गरेका थिए। यसरी नै, क्याप्टन रामसिंह ठकुरी अर्का महान् स्वतन्त्रता सेनानी तथा सङ्गीतज्ञ थिए, जसले प्रेरणादायी राष्ट्रिय गीतहरूमा धून भरेका थिए।

साङ्माले गृहमन्त्रीलाई लेखेको पत्रमा अझ भनिएको छ- भारतीय समाजको सुगठनमा अन्य समुदायहरूले सरह गोर्खाहरूले पनि प्रशस्त योगदान पुऱ्याएका छन्, गोर्खाहरू पनि अधिकार प्राप्तियोग्य भारतीय नागरिक हुन्, जससित आफ्नो चिन्हारी अनि बासभूमि हुने अधिकार छ।

नेशनल पीपल्स पार्टीका राष्ट्रिय अध्यक्ष साङ्माले केन्द्रीय गृहमन्त्री शाहसमक्ष अनुरोध गर्दै लेखेका छन्–प्रधानमन्त्री नरेन्द्र मोदीनेतृत्वाधीन एनडीए सरकारले यस देशका नागरिकहरूको हितमा असङ्ख्य ऐतिहासिक निर्णयहरू लिएको छ। एवंरीतले उत्तर बङ्गालका गोर्खाहरूको न्यायसङ्गत अनि संवैधानिक मागहरूको सहानुभूतिपूर्ण सुनवाई गरिदिन तथा चाँड़ोभन्दा चाँड़ो यी सम्माननीय अनि देशप्रति समर्पित समुदायलाई एउटा सम्मानजनक अनि स्थायी राजनैतिक समाधान प्रदान गर्न निवेदन गर्दछु।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here