खरसाङ, १५ अक्टोबर : बन्सल कम्पनी अधीनस्थ अम्बटे चियाकमान बन्द भएको छ। चियाकमानका प्रबन्धकले नोटिस टाँसेर आजदेखि कमान बन्द भएको बताएका छन्।
नोटिसका अनुसार आजदेखि जति दिन कमान बन्द रहनेछ, त्यसअवधिको रोज र वेतन दिइनेछैन। यद्यपि कमानमा आपातकालीन सेवाहरू पनि खुला रहनेछ।
नोटिसमा पक्का चिया बिक्रीका लागि लानमाथि रोक लगाइएको तथा गेट मिटिङ र अन्य गतिविधिहरूको कारण चियाकमानमा कार्य सुचारू नभएकै कारण बन्द गर्नपरेको बताइएको छ।
यसका साथै श्रमिकहरूको एक समूहले चियाकमान सञ्चालन बाधा दिइरहेको, प्रबन्धकपक्षको आदेशलाई अटेरी गरेको आदि पनि उल्लेख गरिएको छ। नोटिसको प्रतिलिपि जिल्लापाल दार्जीलिङ, पुलिस अधीक्षक दार्जीलिङ, जीटीएका अध्यक्ष, महकुमा अधिकारी खरसाङ, एसडीपीओ खरसाङ, सहश्रमायुक्त खरसाङ, आईसी खरसाङ आदिलाई पठाएको बताइएको छ।
अर्कोतिर जानकारीका अनुसार धेरै दिनदेखि अम्बटे चियाकमानमा मुख्य प्रबन्धक थिएनन्। यो चियाकमान सह प्रबन्धक जे लाटीको देखरेखमा चलिरहेको थियो। यसैले नोटिसमा प्रबन्धकको पक्षमा भनेर तीनै सह-प्रबन्धक जे. लाटीले हस्ताक्षर गरेका छन्।
आजदेखि बन्द भएको अम्बटे चियाकमानमा श्रमिक र स्टाफ-सब स्टाफ गरी करिब एक हजार रहेको बताइएको छ।