सिलगढी, १४ अक्टोबर : शब्द समय सालबारीले हिजो नेपाली साहित्यका मूर्धन्य कथाकार गुप्त प्रधान र प्रख्यात जनसेवी होमियो चिकित्सक होम बहादुर छेत्रीलाई कृति र कर्ममा सम्झना गर्दै उनीहरूले जाति र समाजमा पुऱ्याएका योगदानमाथि चर्चा परिचर्चा गऱ्यो ।
अवसर थियो – गोमदेन टी बारमा आयोजित शोक सभा , जहाँ नेपाली समाजले भर्खरै गुमाएका यी रत्नप्रति श्रद्धाञ्जलि अर्पण गरियो । उनीहरूका कृति र कर्मको विशद् चर्चा-परिचर्चा गरियो ।
साहित्यकार ज्ञानेन्द्र खतिवडाले डा. होम बहादुर छेत्रीको योगदान र उनले गरेका जनसेवा कार्यमाथि प्रकाश पारे ।
“होम बहादुर छेत्री रोगीहरूका उपचार गर्ने डाक्टर मात्र थिएनन्, तर भाषा र जाति भनेपछि मरिमेट्ने व्यक्ति पनि थिए”, खतिवडाले थपे, “उनले त बाइबलको पनि अनुवाद गरेका छन् । आपत्कालमा परिचय भन्ने किताबै लेखेका छन् ।”
साहित्यकार खतिवडा थप्छन्, “डा. होम बहादुर छेत्रीले हाम्रो जाति, भाषा र समाजका लागि पुऱ्याएका योगदान हामीले बिर्सन सक्दैनौँ, बिर्सन पनि हुँदैन ।”
यसैगरी उनले कथाकार गुप्त प्रधानका कथा र अन्वेषण कार्यबारे पनि प्रकाश पारे ।
साहित्यकार नरबहादुर दाहालले कथाकार गुप्त प्रधान र डा. होम बहादुर छेत्रीबारे बोल्दै उनीहरूसँग बिताएका क्षण सबैसँग साझा गरेनन्, तर दुवैका योगदान, कृति र कर्मबारे विस्तारमा प्रकाश पनि पारे ।
यति मात्र होइन, साहित्यकार दाहालले यी दुवै विभूतिसँगका रोचक संस्मरण पनि सुनाए ।
साहित्यकार मोहन ठकुरीले कथाकार गुप्त प्रधानसँग आफ्नो सान्निध्यको उल्लेख गर्दै उनीसँग लिइएको अन्तर्वार्ताका केही कुरा साझा गरे । साहित्यकार ठकुरीको भनाइ थियो – “गुप्त प्रधान सिङ्गो नेपाली साहित्यकै सफल र चर्चित कथाकार हुन् । उनका सबै कथा राम्रा छन् ।”
कथाकार / युग्मककार कालुसिंह रनपहेँलीले यस अवसरमा केही युग्मक सुनाउँदै कथाकार प्रधान र चिकित्सक छेत्रीसितका सम्बन्धबारे बताए । उनले कथाकार गुप्त प्रधानलाई आफ्नो कथा लेखनका गुरु ठानेको बताउँदै प्रधानलिखित कथा द्वन्द्व पढेर सुनाए ।
चित्रकार सुवास छेत्रीले कथाकार गुप्त प्रधानको परिचय दिँदै उनका कृति-कर्मको लेखाजोखा गरे ।
यसअवसरमा कवि / कथाकार भविलाल लामिछाने, राजनीतिक लेखक डीएस बम्जन, कथाकार जीत बहादुर सुनार कवि लीलबहादुर सुनार कवि हेमन्त काफ्ले, समाजसेवी पूर्ण मगर, चिया उद्योगबाट सेवानिवृत्त अधिकारी अरुण गोम्देन, अनुवादक एवं सामाजिक अभियन्ता शमिक चक्रवर्ती, सुमेन्द्र तामाङ, ललित कुमार सोताङ, अवकाशप्राप्त अभियन्ता पुरण प्रधान, केफे द दट्वीन्सकी लेखा राई, गोम्देन टीबारका स्वामी अनन्त गोमदेन आदिको उपस्थिति थियो ।