क्रामाकपाद्वारा गोर्खाल्याण्ड प्राप्तिको सङ्कल्प, मनायो 23औं स्थापना दिवस

0
1437

दार्जीलिङ, 15 दिसम्बरः सन् 1996 मा मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-बाट छुट्टिएर स्थापना भएको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले आइतवार छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको सङ्कल्पसँगै 23औं स्थापना दिवस पालन गरेको छ।

यद्यपि आज क्रामाकपाले आफ्नो स्थापना दिवस सामान्य रूपमा पार्टी कार्यालय परिसरमा नै शहीद वेदीमा खदार्पण, दीप प्रज्ज्वलनपछि पटेका पड़्काएर पालन गरेको थियो। यसअवसरमा उपस्थित कार्यकर्ताहरूले छुट्टै राज्य गोर्खाल्याण्डका क्रामाकपा प्रतिबद्ध रहेको भन्दै चर्को नारा लगाए।

यसपछि पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भने, “क्रामाकपा छुट्टै राज्य गोर्खाल्याण्डका लागि प्रतिबद्ध छ।  पछिल्लो लोकसभा चुनाउमा पनि पार्टीले भारतीय जनता पार्टीलाई यसै मुद्दाका लागि समर्थन जनाएको थियो।’’

 “भाजपाले स्थायी राजनीतिक समाधानबारे अहिलेसम्म पनि स्पष्ट पारेको छैन। तर, क्रामाकपाका लागि स्थायी राजनीतिक समाधान केवल छुट्टै राज्य गोर्खाल्याण्ड हो। छैटौं अनुसूची कहिले पनि स्थायी राजनीतिक समाधान हुनसक्तैन अनि यसलाई दार्जीलिङ पहाड़का जनताले अघिबाटै खारेज गरिसकेका छन्’’, एक प्रश्नको उत्तरमा छेत्रीले थपे, “यति मात्रै होइन, छैटौं अनुसूची राज्यभित्रकै एउटा व्यवस्था भएको कारण यसलाई क्रामाकपाले कदापि स्वीकार गर्दैन। हामीलाई राज्यदेखि बाहिरको व्यवस्था चाहिएको छ।’’

छेत्रीको दाबीका अनुसार छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको लक्ष्यलाई ध्यानमा राखेरै सन् 1996-मा मार्क्सवादी कम्युनिष्ट पार्टीबाट अलग भएर क्रामाकपाको स्थापना गरिएको हो।

“केन्द्रको सत्तारूढ़ दल भाजपाले दार्जीलिङका लागि स्थायी राजनीतिक समाधानको कुरा गरे पनि अहिलेसम्म यसमाथि स्पष्ट पारेको छैन। यसैकारण क्रामाकपाले गत केही दिनअघि दिल्लीमा नै दुईदिने धरना प्रदर्शन गरी भाजपामाथि चाप दिने पनि कार्य गरेको थियो’’, क्रामाकपा प्रवक्ताले थपे, “दार्जीलिङ पहाड़मा सन् 1988-मा दार्जीलिङ गोर्खा पार्वत्य परिषद्जस्तो व्यवस्था लागू भएको थियो भने 2012-मा फेरि गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन पनि लागू भयो। तर, ती दुवै व्यवस्थाले गोर्खा जाति वा दार्जीलिङ पहाड़का जनताको आकांक्षा पूर्ण गर्न सकेन। यसैले यसप्रकारको व्यवस्था होइन, गोर्खाल्याण्ड नै चाहिन्छ भनेर नै क्रामाकपा अघि बढ़िरहेको छ।’’

यसैबीच बङ्गाल विधानसभा चुनाउअघि नै भारतीय जनता पार्टीले स्थायी राजनीतिक समाधान के हो, त्यो स्पष्ट पार्नुपर्ने अनि त्यो स्थायी राजनीतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्ड नै हुनपर्ने मागसमेत उनले गरेका छन्।

माकपाबाट छुट्टिएर क्रामाकपाको गठन हुँदा तत्कालीन राज्यको सत्तामा रहेको माकपाका एक शीर्ष नेताले क्रामाकपा 6 महीना पनि बाँच्न सक्तैन भन्ने दिएको बयानलाई स्मरण गर्दै गोविन छेत्रीले आज भने, “अहिले को समाप्त भएर गइरहेको छ, त्यो उनीहरू आफैले बुझ्नुपर्छ। क्रामाकपाले आफ्नो 23 वर्षको उमेर पूरा गरिसक्यो अनि यो अझै सङ्घर्ष गरेर जनताको हितमा कार्य गर्न लागिरहनेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here