सिलगढ़ी, 15 दिसम्बरः राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) र नागरिकता संशोधन अधिनियम (सीएए)-विरुद्ध विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आउँदो 18 दिसम्बरदेखि लगातार विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ।
आइतवार सुकनामा बसेको सभापछि एनआरसी र सीएएविरुद्ध विरोध कार्यक्रमलाई थप तीव्र पार्ने निर्णय गरेको छ।
उल्लेखनीय छ, पछिल्लो 11 दिसम्बरदेखि उल्लिखित दुई विषयको विरोधमा दार्जीलिङ, खरसाङ, मिरिक र कालेबुङमा धरना कार्यक्रम गर्दै आइरहेको छ।
आजको सभामा पार्टीको केन्द्रिय समिति 23 वटा भातृ सङ्गठनका पदाधिकारीवर्ग, कालेबुङ जिल्ला समितिका पदाधिकारी, खरसाङ, मिरिक र दार्जीलिङका महकुमा समितिका पदाधिकारीवर्गलगायत 45 वटै समष्टिका सभापति/सचिवलगायत प्रतिनिधिहरू उपस्थित रहेको बताइएको छ। सभा एनआरसी, सीएए र इनरलाइन परमिटबारे चर्चापरिचर्चा गर्नका लागि डाकिएको थियो।
सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले एनआरसी र सीएएको विरोधमा आउँदो 18 र 19 दिसम्बरको दिन पहाड़भरि युवा मोर्चाले सीएएको विरोधमा पोस्टरिङ तथा तथा 20 दिसम्बरको दिन पार्टीले दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकमा विराट् र्याली जनसभा गर्ने बताएका छन्।
यसैबीच, एनआरसी र सीएएविरुद्ध 20 दिसम्बरपछि दिसम्बरभित्रै कुनै दिन युवा मोर्चाले कुनै प्रकार कार्यक्रम गर्ने निर्णय लिइएको पनि विनयको भनाइ छ। यद्यपि युमोको उक्त कार्यक्रम कहिले र कुन प्रकारको हुने भन्नेबारे अहिले नै तय नगरिएको पनि तामाङले जनाएका छन्।
विनयका अनुसार युमोको उक्त कार्यक्रमपछि पार्टीले दार्जीलिङ पहाड़, सिलगढ़ी र डुवर्समा विरोध प्रदर्शन गर्दै सड़कमा ओर्लिने बताए। उनका अनुसार यो कार्यक्रम जनवरी महिनामा गरिनेछ। “हाम्रा यी कार्यक्रमहरू केवल पहाड़मा मात्र केन्द्रित हुनेछैन। तर, हामी डुवर्समा पनि लिएर जानेछौं’’, उनले भने।
अर्कोतिर, नागरिकता संशोधन अधिनियम र राष्ट्रिय नागरिक पञ्जीविरुद्ध आफ्नो पार्टीले विरोध जनाइरहने बताएका छन्।
यसका साथै उनले एनआरसी लागू हुनअघि गोर्खा जातिलाई मूलनिवासीको दर्जा दिएर संरक्षित सूचीमा राखिनुपर्ने, जीटीए क्षेत्रलाई सीएएबाट अलग राख्नुपर्ने तथा सन् 1990 सम्म रहेको इनरलाइन परमिटलाई दार्जीलिङ, कालेबुङ, सिलगढ़ी र डुवर्समा पुनः लागू गर्नुपर्ने माग दोहोर्याएका छन्।