चितुवाले खायो नानी

0
2056
साङ्केतिक फोटो।

सिलगढ़ी, 16 जनवरी : डुवर्समा फेरि चितुवाले नानी खाएको घटना प्रकाशमा आएको छ। यो घटना वीरपाड़ाको गरगण्डा चियाकमानमा भएको हो। मङ्गलबार बेलुकी चितुवाले एक नानीलाई आमाकै छेउबाट लिएर भागेको थियो, बुधबार बिहान उक्त नानीको शरीरको टुक्रा टुक्रा भाग चियाकमान क्षेत्रबाट बरामद गरियो।

उल्लेखनीय छ, मङ्गलबार  बेलुकी लगभग तीन वर्षकी परिमिता उराँव आफ्नी आमा पूजा उराँवको छेउमा बसिरहेकी थिइन्। यस्तै समय एक चितुवा आयो र नानीलाई मुखमा चेपेर भाग्यो। घटनाको सूचना पाएलगत्तै वन विभागका कर्मीहरू घटनास्थलमा पुगेका थिए।

यसैबीच यो घटनाले आक्रोशित भएका मानिसहरूले वन विभागका कर्मीहरू अघि विरोध जनाए। साथै उनीहरूले वन विभागको वाहनलाई पनि तोड़फोड़ गरे। तनावलाई शान्त गर्न पुलिस घटनास्थलमा आउन बाध्य बनेको थियो।

प्राप्त जानकारीका अनुसार रेञ्जर खगेश्वर कार्जीको नेतृत्वमा नानीको खोजी रातभरि गरियो, तर कुनै सुइँको लाग्न सकेन। यसैबीच आज बिहान चियाकमान क्षेत्रबाट चितुवाले आधा खाएको उक्त नानीको शरीरको टुक्रा टुक्रा बरामद भयो।

नानीको शरीरका अङ्गहरू  टुक्रा टुक्रा भेटेपछि स्थानीय मानिसहरू अझ आक्रोशित बनेका छन्। बन्य जन्तुलाई नियन्त्रणमा राख्न वन विभागले कुनै प्रभावी कदम नउठाएको मानिसहरूको भनाइ छ। प्रतिदिन हात्तीको उपद्रो सहन बाध्य डुवर्सका चियाकमानवासीले चितुवाको आतङ्क पनि उत्तिकै झेल्दै आएका छन्।

पछिल्लो वर्षको 12 दिसम्बरयता चितुवाले नानी खाएको यो तेस्रो घटना हो। यसभन्दा अघि पछिल्लो वर्षको दिसम्बर महिनामा डुवर्सकै दुम्सीपाड़ा र रामझोड़ा चियाकमानमा पनि एक-एक बालकलाई चितुवाले आफ्नो शिकार बनाएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here