भागोपको गुवाहाटी घोषणा जारी, लीलबहादुर छेत्री र स्व. मणिकुमार सुब्बालाई गोर्खा गौरव सम्मान

0
1572

दार्जीलिङ, १६ फरवरीः भारतभरिका गोर्खाहरूका राजनीतिक र सामाजिक सुरक्षाको पहल गर्ने प्रतिबद्धतासँगै भारतीय गोर्खा परिसङ्घ (भागोप)-ले गुवाहाटी घोषणा २०२० जारी गरेको छ।

असमको आमगाउँस्थित शताब्दी पुरुष हरिप्रसाद गोर्खा स्मृति मञ्चमा शनिवार र आइतवार सम्पन्न भागोपको दुईदिने राष्ट्रिय परिषद्को सम्मेलनमा गुवाहाटी घोषणा-पत्र जारी गरिएको छ, जसमा भारतीय गोर्खाहरू सम्बन्धित सातवटा मुद्दालाई समाविष्ट गरी तत्सम्बन्धी पहलको प्रतिबद्धता जताइएको छ।

भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनिष तामाङका अनुसार गुवाहाटी घोषणा-पत्रमा बोडोल्याण्ड टेरिटोरी रिजनको सम्झौतालाई स्वागत गर्दै यस क्षेत्रमा बसोबास गर्ने गोर्खाहरूको जमिनको अधिकार बीटीआरपूर्वको व्यवस्थामा जस्तै सुरक्षित र सुनिश्चित हुनुपर्ने,  हाल स्ट्यान्डिङ कमिटीमा विचाराधीन रहेको छैटौं अनुसूची क्षेत्रको संशोधन विधेयकमा गोर्खाहरूका घर-जग्गालगायत राजनीतिक र सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने मागमा पूर्वोत्तर क्षेत्रका अध्यक्ष जगन्नाथ कोइरालाको नेतृत्वमा त्यहाँका प्रतिनिधिहरूले स्ट्यान्डिङ कमिटीसमक्ष आफ्नो दाबी पेश गर्ने गुवाहाटी घोषणा समावेश गरिएको छ।

त्यसैगरी भागोपले गोर्खाल्याण्डको दीर्घलम्बित माग सम्बन्धमा केन्द्र र बङ्गाल सरकारलाई स्थायी राजनीतिक समाधानका लागि यथाशीघ्र पहल गर्नुपर्ने अनुरोध गर्नेछ।

घोषणाको चौथो बुँदामा अरुणाचल प्रदेशको विजय नगरमा बस्ने गोर्खाहरूको स्थायी नागरिक प्रमाण-पत्र (पीआरसी)-को समस्या समाधानका लागि पहल गरिरहेको र यो मुद्दामा सफलता प्राप्त नगरेसम्म राजनीतिक र सामाजिक पहललाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेको छ।

पाँचौं बुँदामा भारतीय सेनामा भर्तीका लागि आवश्यक गोर्खा सर्टिफिकेटको समस्या सुझ्याउने प्रतिबद्धता जाहेर गरिएको छ।

विभिन्न स्थानमा गोर्खा सर्टिफिकेटसम्बन्धमा देखिएको समस्या सुल्झाउनका लागि देहरादुननिवासी कर्णल जेके छेत्रीको नेतृत्वमा एक कमिटी गठन गरिएको छ।

यस कमिटीले भारतभरि भ्रमण गरी गोर्खा सर्टिफिकेटमा देखिएका समस्याको अध्ययन गरी त्यसको निराकारण र गोर्खा सर्टिफिकेट बनाउने सहज उपायबारे एक सुझाउ भागोपलाई बुझाउनेछ।

कमिटीले दिएको सुझाउअनुसार भागोपले रक्षा मन्त्रालयलगायत अन्य उच्चाधिकारीलाई भेट गरी उल्लिखित समस्याको समाधानका लागि पहल गर्नेछ।

यसैगरी छैटौं बुँदामा उत्तर बङ्गालका चियाकमानहरूमा बसोबास गर्ने गोर्खा समुदायलाई उनीहरूका जमिनको मालिकना हक (पर्जापट्टा) दिलाउनका लागि प्रभावशाली पहल गर्ने प्रतिबद्धतालाई दोहोऱ्याएको छ भने सातौं बुँदामा स्वतन्त्र सेनानी कप्तान रामसिंह ठकुरीलाई पद्मश्री पुरस्कार दिइनुपर्ने सरकारसमक्ष माग राख्नेछ।

राष्ट्रिय परिषद्को दुईदिने सम्मेलनपछि भागोप गोर्खा गौरव सम्मान आयोजन गरियो।

यसपालि भागोपले गोर्खा गौरव सम्मानद्वारा वरिष्ठ साहित्यकार एवं पद्मश्री लीलबहादुर छेत्री र मरणोपान्त पूर्व सांसद स्व. मणिकुमार सुब्बालाई सम्मानित गरियो।

स्व. सुब्बाको सम्मान उनकी पत्नी ज्योति सुब्बाले ग्रहण गरेकी थिइन्।

सम्मेलनलाई राष्ट्रिय अध्यक्ष सुकमन मोक्तानले अध्यक्षता गरेका थिए। यसअवसरमा १५ राज्यका २०० भन्दा बढ़ी पदाघिकारीवर्ग उपस्थित थिए।

यसैअवसरमा भादोपको युवा एकाईका राष्ट्रिय पदाधिकारीहरूले शपथ ग्रहण गरेका थिए भने सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here