दार्जीलिङमा पनि 5 रुपियाँमा भरपेट खाना

0
886

दार्जीलिङ, 16 फरवरीः दार्जीलिङमा पनि आजदेखि 5 रुपियाँमा भरपेट खाना पाउन थालेको छ। खानामा भात, दाल, सब्जी र अण्डा सामेल छन्।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यभरि शुरु गरेको आमा योजनाअनुसार,  5 रुपियाँमा खाना आजदेखि दार्जीलिङ नगरपालिका कार्यालय परिसर वा क्यापिटल थिएटर हलमा पनि शुरू भएको छ।

विपन्न परिवारका मानिसहरूलाई दिउँसो प्रदान गरिने यो खाना योजना आजदेखि दार्जीलिङमा पनि शुरू भएपछि यसको लाभ धेरैले उठाए।

अपराह्न 1 बजीदेखि 3 बजीसम्म चलाइएको आज प्रथम दिनको योजनाबाट दार्जीलिङ शहरी वरिपरिका 60 जनाभन्दा अधिकले लाभ उठाएको दार्जीलिङ नगरपालिका प्रशासनले बताएको छ।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यस योजनाको हिजो कलकत्ताबाट उद्घाटन गरेकी थिइन् भने आजदेखि राज्यभरि यो योजना लागू भएको छ।

यस योजनाबाट राज्यका लाखौँ विपन्न परिवारका सदस्यहरू लाभान्वित बने पनि विपक्षी पार्टीहरूले यसलाई तृणमूल कङ्ग्रेस नेत्रीको चुनावी स्टन्ट हो भन्ने आरोप लगाउन थालेका छन्।

यस योजनाबारे गराउँदै दार्जीलिङ नगरपालिकाका सचिव सीपी राईले भने, “राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका निम्न वर्गका परिवारहरू भोको पेट रहन नपरोस्, दिउँसो उनीहरूले 5 रुपियाँमा भेरपेट खाना खान पाऊन् भन्ने विषयलाई ध्यानमा राखेर नै यस आमा योजनाको शुरूआत गरिएको हो, जो लगातार चलिरहनेछ।”

यसबाट दार्जीलिङ पहाड़का विभिन्न स्थानका विपन्न परिवारका सदस्यहरू पनि लाभान्वित बन्ने उनको भनाइ छ।

उल्लेखनीय छ, हाल दार्जीलिङमा सब्जी खानाको मूल्य 80 देखि 90 रुपियाँसम्म छ। तर, आजदेखि दार्जीलिङमा विपन्न परिवारका सदस्यहरूले केवल 5 रुपियाँमा भरपेट खाना खान पाउन थालेका छन्।

राईले आजदेखि दार्जीलिङमा यो योजना लागू भएको बताउँदै जिल्लाका अन्य क्षेत्रहरूमा शीघ्रै लागू हुने जानकारी गराए।

यसका साथै उनले दार्जीलिङका विपन्न परिवारका नागरिकहरूलाई यस योजनाको फाइदा उठाउने पनि अपील गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here