ट्याक्सी सवारीमा सवार भइ चामलिङले शुरु गरे चुनाउ प्रचार : भने –एसडीएफले शतप्रतिशत जित्नेछ

0
1162
पत्रकारहरूसँग कुराकानी गर्दै चामलिङ।

गान्तोक,16 मार्चः  मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले शनिबार राजधानीको लालबजारबाट नयाँ तरिकाले चुनाउ प्रचार शुरु गरे।

बिहान ठीक 8 बजे लालबजार आइपुगेका उनलाई अघिबाटै त्यहाँ तैनाथ युवा, चेली तथा एसडीएफ समर्थकहरूले भव्य स्वागत जनाए। राजधानीबाट आफ्नो गृह समष्टि नाम्चीसम्म पुग्नलाई मुख्यमन्त्रीले एउटा स्थानीय ट्याक्सी सवारी रिजर्भ गरेका थिए।

लालबजारमा लगभग 14 मिनट भाषण दिएपछि उनी सवारी ट्याक्सीमा सवार भए आफ्नो गृह नगरतिर प्रस्थान गरे।

यसअवसरमा गान्तोकका एसडीएफ प्रार्थी तथा निवर्तमान विधायक पिन्सो छोपेल लेप्चा, निवर्तमान विधायकद्वय डा.मिचुङ भोटिया र डीआर थापा अनि तादोङका एसडीएफ प्रार्थी जीटी ढुङ्गेल पनि यस अवसरमा मुख्यमन्त्रीका साथमा थिए। डेञ्जोङ सिनेमा हलअघि चामलिङले शान्तिको प्रतीक एक जोड़ी परेवा उड़ाए।

गान्तोकवासीलाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले आजदेखि आफू चुनावी प्रचार अभियानमा निस्किएको बताए। 25 वर्षमा एसडीएफले सिक्किमलाई शान्तिपूर्ण शासन व्यवस्था दिएको उनले बताए।

“यसपालिको चुनाउ केवल चुनाउ होइन, तर सिक्किम बचाउने चुनाउ हो। राज्यको बागडोर गुण्डाहरूको हातमा गयो भने सिक्किम बर्बाद हुन्छ, त्यसकारण यो चुनाउ मेरो लागि भन्दा पनि जनताका लागि महत्त्वपूर्ण छ”, आफ्नो संक्षिप्त भाषणमा एसडीएफ अध्यक्षले भने।

लालबजार शपिङ कम्प्लेक्समा 125 जना व्यापारीलाई उनीहरूका पञ्जीकरण प्रदान गरिएको जनाउँदै अन्य सबै समस्या आगामी सरकारमा समाधान गरिदिने मुख्यमन्त्रीले आश्वासन दिए।

“हामीले घरदैलो अभियान शुरु गरेका छौं। यस अभियानमा जनताका माग र आवश्यकता बुझेर एजेण्डा तयार गरिनेछ र आगामी सरकार आएको 100 दिनभित्रमा त्यसलाई पूरा गरिनेछ।” यसपालिको चुनाउमा विशेष गरी युवाहरूलाई फोकस गरिने अनि राज्यको समग्र विकास, समृद्धि र विश्वस्तरमै सिक्किमलाई बलियो राज्य बनाउने सरकारको पहल हुने उनले बताए।

मुख्यमन्त्रीले भने, “सिक्किमको समृद्धि, विकास, शान्ति र सुरक्षा एसडीएफ सरकारको निरन्तर प्राथमिकताका मुद्दाहरू हुन्। यसपालिको चुनाउमा हामी युवा समुदायको मुद्दालाई विशेष रूपले लिएर अघि बढ़्नेछौं।”

विपक्षी एसकेएममाथि खनिँदै उनले यो पार्टी सत्तामा आएको खण्डमा सिक्किम बर्बाद हुने बताए भने एसडीएफ पार्टीले मात्र सिक्किमको सर्वाङ्गीण विकास र हित गर्नसक्ने दाबी गरे। एसडीएफलाई भोट दिएर सिक्किम बचाउन उनले राज्यवासीलाई आह्वान गरे।

सम्बोधनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्रीले दोस्रो चरणको टिकट चाँड़ै घोषणा हुने जानकारी दिए। समाजका सबै तह र तप्का मानिसहरूलाई प्रतिनिधित्व दिलाउने आफ्नो प्रयास रहेको उनले बताए। एसडीएफ पार्टीले सबै सीट जित्ने कुरामा आफू 100 प्रतिशत विश्वस्त रहेको उनको भनाइ थियो।

एसकेएम-भाजपा गठबन्धन सम्बन्धमा प्रश्न गर्दा उनले भने, “कसले कोसँग गठबन्धन गर्छ, त्योसँग हामीलाई मतलब छैन। एसडीएफ पार्टीले त्यसबारेमा टाउको दुखाउँदैन।”

पैदल यात्रा गरी चुनाउ प्रचार गर्दै चामलिङ।

गान्तोकबाट साधारण ट्याक्सी सवारीमा नाम्चीसम्म जाने कार्यक्रम रहेको सन्दर्भमा पत्रकारहरूले के तपाईंको यो राजनीतिक स्टन्ट हो भनी प्रश्न गरे; जवाबमा चामलिङले भने, “म राज्यका सबै जनताका नेता हुँ। चालकको पनि नेता हुँ। साधारण चालकसँग कुराकानी गर्दै म आज नाम्चीसम्म पुग्नेछु। यसमा कुनै स्टन्टको कुरा छैन। यो आम मान्छेसँग जोड़िने कुरा हो।”

आगामी सरकार 100 प्रतिशत एसडीएफको हुन्छ भन्ने कुरामा उनले आफू विश्वस्त रहेको पनि बताए। साथै आगामी सरकार जनमुखी तथा जनताका एजेण्डामुखी हुने दाबी गरे।

“सिक्किमका जनताले गुण्डाहरूलाई सरकार सुम्पनु हुँदैन। सिक्किमबाहिर जरा भएका मान्छेहरूलाई राज्यको बागडोर दिनुहुँदैन। सिक्किमे जनताका शासनको रक्षा गर्नुपर्छ, जनताका अधिकार र पुराना कानूनहरूको संरक्षण गरिनुपर्छ”, उनले भने।

अर्कोतिर चामलिङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई ‘उम्मेदवारको टिकट बेच्ने पार्टी’-को संज्ञा दिए।

“पहिला उनीहरूले विधायकको टिकट बेचे। अहिले पार्टी बेचेका छन्। यदि यस्ता व्यक्तिका हातमा सिक्किम पुग्यो भने उनीहरूले सिक्किम बेच्छन् र सिक्किमे जनतालाई बर्बाद पार्छन्। यसैले जनता होशियार हुनुपर्छ। यो चुनाउलाई गम्भीरतापूर्वक लिनुपर्छ। हामी एकताबद्ध भएर एसडीएफलाई जिताई सिक्किम बचाउनुपर्छ”, चामलिङले भने। 

आफ्नो छोटो सम्बोधनपछि मुख्यमन्त्री सामान्य सवारी गाड़ीमा चढ़ेर नाम्चीतर्फ लागे। नाम्ची जाने क्रममा मुख्यमन्त्रीलाई रानीपुल बजारमा पार्टी कार्यकर्ता तथा स्थानीय मानिसहरूले स्वागत गरे। यसपछि उनी सिङ्ताम पुगे, जहाँ एसडीएफ पार्टीका वरिष्ठ नेता तथा निवर्तमान मन्त्री उगेन टी ग्याछो भोटिया, सोमनाथ पौड्याललगायत पार्टी नेता तथा कार्यकर्ताहरूले स्वागत गरे। त्यहाँ उनले एसडीएफ समर्थकहरूबीच छोटो सम्बोधन राखे।

सिङ्तामको कार्यक्रमपछि उनी रम्फू पुगे। रम्फूमा एसडीएफ अध्यक्षलाई क्षेत्रका निवर्तमान विधायक गोपाल बराइलीलगायत पार्टी कार्यकर्ताहरूले स्वागत गरे।

यस अवसरमा उनले रम्फू बजारको पैदल यात्रा तथा परिक्रमा गरे। त्यहाँ स्थानीय व्यापारीहरूले उनलाई भव्य स्वागत जनाए। रम्फू बजारको कार्यक्रमपछि उनी दक्षिण सिक्किमको प्रवेशद्वार मामरिङ पुगे, जहाँ उनले एउटा जनसभामा छोटो सम्बोधन राखे।

यसअवसरमा एसडीएफ उम्मेदवार ब्रिजन तामाङ, निवर्तमान विधायक तिलु गुरुङलगायत नामथाङ-रातेपानी क्षेत्रका एसडीएफ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमपछि उनी सोझै नामथाङ बजार पुगेका थिए। बजारको पैदल यात्रा गर्दै उनी बजारस्थित पार्टी कार्यालयमा प्रवेश गरे।

त्यहाँ उनले पार्टी कार्यकर्ताहरूसँगै बसेर दिवाभोज गरे। यस अवसरमा उनले क्षेत्रका पार्टी कार्यकर्ताहरूसँग छुट्टै बैठक पनि गरे। नामथाङ पार्टी कार्यालयमा उपस्थित सबैलाई उनले सम्बोधन गरे।

नामथाङपछि उनी आफ्नो निर्वाचन क्षेत्र नाम्ची-सिङ्गीथाङतर्फ लागे। क्षेत्रको प्रवेशद्वार भञ्ज्याङ बजारमा मुख्यमन्त्रीलाई भव्य स्वागत गरिएको थियो। नाम्ची-सिङ्गीथाङबाट पुनः उम्मेदवार बनेकोमा उनलाई क्षेत्रवासीले स्वागत जनाए। पार्टी कार्यकर्ताहरूको स्वागत ग्रहणपछि उनी सोझै सेन्ट्रल पार्क पुगेका थिए।

सेन्ट्रल पार्कमा हजारौं कार्यकर्ताहरूको स्वागत ग्रहण गरेपछि उनले आफ्नो निर्वाचन क्षेत्रका मानिसहरूलाई सम्बोधन गरे। यसै अवसरमा उनले नाम्ची बजारका केही दोकानहरूमा प्रवेश गर्दै पार्टीको घरदैलो अभियानको शुरुआत गरे। एसडीएफ अध्यक्ष आफैले पार्टीको पर्ची कटाउँदै पार्टी सदस्यता पनि वितरण गरे।

यो सदस्यता अभियानलाई पार्टीले ‘एसडीएफ परिवार’-को नारा दिएको छ। यो समाचार लेखुञ्जेलसम्म नाम्ची सेन्ट्रल पार्कमा हजारौं मानिसहरू उनको स्वागत तथा समर्थनमा नाराबाजी र नाचगान गरिरहेका थिए। आफ्ना हरेक कार्यक्रमलाई मुख्यमन्त्री आफैले सामाजिक सञ्जाल तथा फेसबुक पेजमा क्षणक्षणमा अपडेट गरिरहेका छन्। उनीसँग छोरी कोमल चामलिङ सवारीमै चढ़ेर नाम्ची पुगेकी थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here