मोर्चा र तृणमूलको संयुक्त पत्रकार सम्मेलन : गौतम देवले भने – पहाड़मा विमल गुरुङको अस्तित्व छैन

0
1712
संयुक्त पत्रकार सम्मेलनमा तृणमूल र गोजमुमोका नेतृत्वहरू।

सिलगढ़ी, 16 मार्च : शनिबार सिलगढ़ीमा आगामी लोकसभा चुनाउलाई लिएर तृणमूल कङ्ग्रेस र गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाले संयुक्त पत्रकार सम्मेलन गरे।

यसअवसरमा दार्जीलिङ तृणमूल कङ्ग्रेसका प्रमुख एवं राज्यका पर्यटन मन्त्री गौतम देवलगायत गोजमुमो दोस्रो खेमाका अध्यक्ष एवं गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) विनय तामाङ, महासचिव एवं बीओए उपाध्यक्ष अनित थापा, हिल तृणमूलका अध्यक्ष एवं मिरिक नगरपालिकाका अध्यक्ष एलबी राई पनि उपस्थित थिए।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गौतम देवले भने, “हामीलाई कम्तीमा पाँच वर्षको अवसर दिनुहोस्। हामी दार्जीलिङ लोकसभा क्षेत्रका सबै  समस्या समाधान गर्नेछौं, जबकि भाजपाले 10 वर्षको समय पाउँदा पनि एउटै समस्या समाधान गरेन।”

तृणमूल कङ्ग्रेसका लोकसभा  उम्मेदवार अमरसिंह राईको उम्मेदवारिता र जीतको सम्भावनामाथि बोल्दै उनले भने, “उनीहरू (विनयपन्थी गोजमुमो) पहाड़मा बलियो छन्। त्यस्तै हामी (तृणमूल कङ्ग्रेस) समतलमा बलियो छौं। त्यसैले हामीले जित्ने सम्भावना शतप्रतिशत छ। यसैले हामीले अमरसिंह राईलाई उम्मेदवार बनाएका हौं। यसलाई लिएर हाम्रो कुनै गोप्य एजेन्डा छैन। हाम्रो मुख्य लक्ष्य भनेको दार्जीलिङ लोकसभा सीट जित्नु हो।”

यसअवधि देवले भाजपा र निवर्तमान सांसद एसएस अहलुवालियामाथि पनि कटाक्ष गरे। साथै अहलुवालियाले आफ्नो कार्यकालअवधि कुनै ठोस कार्य नगरेको आरोप लगाए। उनको आरोपका अनुसार दार्जीलिङका भाजपा सांसदले 25 करोड़मा 7 करोड़ मात्र खर्च गरे।

तृणमूल नेताले विमल गुरुङको पहाड़मा अब कुनै अस्तित्व नै नरहेको दाबी गरे। एक प्रश्नको उत्तरमा उनले भने, “पहाड़मा अब विमल गुरुङको कुनै अस्तित्व छैन। मानिसहरूमा गुरुङको आतङ्क छ। प्रत्येक मानिसहरूले उनलाई नकार्न थालेका छन्”, गौतम देवले भने। उनले अमरसिंह राईले चाँड़ै गोजमुमोको विधायक पदबाट राजीनामा दिने पनि बताए।

“उनकी श्रीमती बङ्गाली हुन्, जसले भारतीय सेनासँग सम्बन्ध राख्छिन्”, देवले थपे, “हामीले सबै पक्षमाथि विचार विमर्ष र छलफल गरेपछि उनलाई उम्मेदवारका लागि चयन गरेका हौं। उनी हाम्रा छनौट हुन्।”

अर्कोतिर पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विनय तामाङले अमरसिंह राईले डेढ़ लाखभन्दा अधिक मतले विजयी बन्ने ठोकुवा  गरे। विनयले पहाड़मा चुनाउ प्रसार शुरु भइसकेको पनि बताए। विनयका अनुसार गोजमुमोले तृणमूल कङ्ग्रेससँग गठबन्धन गरेर  चुनाउ लड़िरहेकोले पहाड़का विपक्षी दलहरूलाई चोट पुगेको छ।

“गोरामुमो, जाप र अन्य दलहरूले मिलेर उम्मेदवार उठाउने तयारी गरिरहेका छन्, तर सुन्दैछु ती दलहरूको एकता टुटेको छ”, उनले थपे, “यद्यपि हामीलाई उनीहरूको एकता र एकता टुट्नुसँग कुनै सरोकार छैन। म पहाड़का विपक्षी दलहरूलाई चुनौती दिन्छु, हामी डेढ़ लाखभन्दा अधिक मतले विजयी बन्नेछौं। उनले दुई पार्टीले मिलेर रणनीति बनाइ चुनाउ प्रचार गर्ने पनि बताए।

यसका साथै आगामी 19 मार्चको दिन गोर्खा स्टेडियम दार्जीलिङमा पहिलोपटक चुनावी र्‍याली आयोजन गरी यी दुई पार्टीले  आफ्नो शक्ति देखाउने पनि विनयले जानकारी गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here