गान्तोक, 16 मार्चः विश्वव्यापी बढ़्दो कोरोना भाइरसको प्रकोप रोक्नका लागि सिक्किम सरकारले एक महिनासम्म राज्यका सम्पूर्ण शैक्षिक संस्थान बन्द राख्ने घोषणा गरेको छ।
आज बसेको उच्चस्तरीय बैठकमा मुख्यमन्त्री पीएस गोलेले आउँदो 15 अप्रेलसम्मका लागि राज्यका सबै शैक्षिक संस्थान, डिस्को, सिनेमा हल, क्यासिनो, जिम, मेला, ताम्बोलालाई बन्द गर्ने घोषणा गरे।
यसका साथै यसै मितिसम्मका लागि सरकारले देशी पर्यटकहरूमाथि पनि रोक लगाएको छ।
यसैगरी सरकारले सिक्किमवासीलाई राज्यबाहिर यात्राका लागि नजाने पनि अपील गरेको छ। अर्कोतिर आज बसेको बैठकमा रम्माम, रेसी र उत्तरे चेकपोस्ट बन्द गर्ने निर्णय लिइएको छ।
उल्लेखनीय छ, देशका विभिन्न राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिए तापनि सिक्किममा आजका दिनमा एउटै मामिला पनि प्रकाशमा आएको छैन।
आजको यस उच्चस्तरीय बैठकमा कोरोना भाइरसले उत्पन्न स्थिति तथा यसको प्रकोपबाट बच्नका लागि राज्यले गरिरहेको सुरक्षा उपायबारे पनि विशद् चर्चा गरिएको बताइएको छ।
मुख्यमन्त्री गोलेको अध्यक्षतामा सम्पन्न यस उच्चस्तरीय बैठकमा सबै क्याबिनेट मन्त्री, विधायकगण, प्रशासनिक अधिकारीवर्गलगायत विभिन्न हितधारकहरू उपस्थित थिए।
स्मरणरहोस्, कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि अघिबाटै गम्भीर देखिएको राज्य सरकारले पछिल्लो 5 मार्चका दिनदेखि नै विदेशी पर्यटकहरूको प्रवेशमा रोक लगाएको थियो।