दार्जीलिङ, १५ अप्रेल : भारतीय जनता पार्टीलाई समर्थन गरिरहेका पहाड़का राजनीतिक दलहरू र गैर राजनीतिक सङ्गठनहरूले संयुक्त रूपमा सोमबार दार्जीलिङमा गोर्खा एकता विजयी दिवस मनाए।
विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी, अखिल भारतीय गोर्खा लीग, सुमेटि मोर्चा, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चालगायत अन्य राजनीतिक दल र विभिन्न गैर राजनीतिक सङ्गठनका कार्यकर्ता र पदाधिकारीहरूलाई अत्यन्त बाक्लो सहभागितामा यो गोर्खा एकता विजयी दिवस पालन गरिएको हो।
यसअवसरमा महाजुलूस र जनसभा पनि आयोजन गरियो। चुनाउ सम्पन्न हुन, त्यसको फलाफलको घोषणा हुनअघि नै विजयी उत्सव मनाइयो।
शुरुमा चौरस्तामा भेला भएर उनीहरूले विजयी उत्सव मनाए। पटेका पड़्काए। अबीर छर्किए। त्यसपछि दार्जीलिङ सरकारी विद्यालयको मैदानमा जनसभा सम्पन्न भयो।
जनसभालाई विशेष रूपले भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले सम्बोधन गरे। उनले ममता ब्यानर्जीको उल्टा गन्ती शुरु भएको बताउँदै समय छँदै यसलाई बुझ्ने चेताउनी दिए।
“ममताजी तपाईंले गोर्खाल्याण्ड आन्दोलनलाई जसरी दमन गर्नु भयो, कुल्चिनु भयो, यसैको भगवानले यति ठूलो सजाय दिनेवाला छ, केवल ६ महिनाभित्र तपाईंको सरकार सड़कमा हुनेछ’’, विजयवर्गीयले थपे, “मुख्यमन्त्रीको रूपमा ममताको उमेर केवल ६ महिनाको छ। म भविष्यमाणी गरिरहेको छु, योभन्दा ज्यादा छैन।”
उनले आगामी लोकसभा चुनाउमा भारतीय जनता पार्टीले ३० भन्दा बढ़ी सीट जित्नेछ।
“भाजापले ३० भन्दा ज्यादा सीट जितेपछि तपाईँको आधा मन्त्री तपाईंलाई छोड़्नेछन्। किनभने उनीहरू पनि तपाईँको आतङ्क र तानाशाहीले वाक्क दिक्क भएका छन्”, उनले थपे, “यसैले म यहाँ कार्यरत अधिकारीहरूलाई पनि निपष्क्ष रूपले कार्य गर्नुपर्ने सुझाउ दिन्छु। तपाईंहरूले तृणमूल कङ्ग्रेसको क्याडरजस्तो भएर कार्य नगर्नुहोस्। तपाईंहरू तृणमूलको क्याडर होइन, जनताको सेवक हुनुहुन्छ।’’
आफ्नो संक्षिप्त सम्बोधनमा उनले गोर्खा वीरता र भारतीय फुटबलमा गोर्खा खेलाड़ीहरूको योगदानको पनि प्रशंसा गरे।
यो चुनाउ गोर्खा भर्सेस ममताबीच हो : राजु विष्ट
भाजापका उम्मेद्वार राजु विष्टले दार्जीलिङको विराट् जनभेलालाई सम्बोधन गर्दै यसपालिको चुनाउ गोर्खा भर्सेस ममताबीच रहेको बताएका छन्। उनले तृणमूल कङ्ग्रेसलाई समर्थन गरिरहेका गोर्खा समुदायलाई भाजपातिर फर्किने आह्वान गरे।
“यस पालिको चुनाउ गोर्खा भर्सेस ममताबीच हो। यसैले तृणमूल कङ्ग्रेसलाई समर्थन गरिरहेका गोर्खा दाजु-भाइ-दिदी-बहिनी फर्किनुहोस्, अहिले पनि समय छ ”, भाजपा उम्मेद्वारले थपे, “यदि तपाईंहरू पक्कै गोर्खाहरू पनि हुनुहुन्छ भने फर्केर आउनुहोस्। भोट १८ तारिख हो, अझै समय छ। हामी माफी गरिदिन्छौं। किनभने हामी गोर्खा हौं।”
उनले दार्जीलिङ सीटबाट कसै गरी तृणमूल कङ्ग्रेसलाई पराजित गर्नुपर्ने बताउँदै तृणमूल कङ्ग्रेसको पराजित गर्न र भाजपालाई जीत दर्ता पनि सम्पूर्ण गोर्खा सङ्कल्पित बन्नुपर्ने सुझाए।
विष्टका अनुसार यदि तृणमूल कङ्ग्रेसले दार्जीलिङको लोकसभा सीट जितेको खण्डमा आगामी दिन अझ धेरै गोर्खालाई शहीद बनाउने दाबी गरे।
भाजपा उम्मेद्वार विष्टले तृणमूल उम्मेद्वार अमरसिंह राईलाई ‘पपेट क्यान्डिटेड’-को संज्ञा दिँदै कटाक्ष गरे। ‘‘अमर दाजु ममता दिदीले ‘राइट’ भन्दा ‘राइट’ ‘लेफ्ट’ भन्दा ‘लेफ्ट’ हुनुपर्छ’’, विष्टको कटाक्ष थियो, “दाजु तपाईंलाई पनि दिदीले ठग्नेछिन्। समय छ तपाईं पनि फर्किनुहोस्। हामी तपाईंलाई पनि माफी गर्नेछौं।”
हामी सहजै जित्छौं, शङ्कै छैन : मन घिसिङ
गोरामुमो अध्यक्ष मन घिसिङले यसपटक भाजपाले सहजै चुनाउ जित्ने बताए। “हामी चुनाउ सहजै जित्छौं, यसमा कुनै शङ्का छैन”, उनले थपे, “यसपटक कुनै पनि हालतमा गोर्खाको शिर झुकेको हुनु हुँदैन। हामीले गोर्खा शिर झुक्न नदिनका लागि गोर्खा एकताको अभ्यास गरेका थियौं।”
आक्रामक शैलीमा देखिएका घिसिङले डर धम्की देखाउनहरूलाई लाखेस पनि गरे। ‘‘डर देखाउने धम्काउने र स्टेज भत्काउने हामीसँग चल्दैन। नचाऊ हामीलाई।’’
उनले गोर्खा एकताका लागि आउने सम्पूर्ण राजनीतिक पार्टी र गैर राजनीतिक सङ्गठनप्रति पनि आभार प्रकट गरे।
जनसभालाई विभिन्न वक्ताले पनि सम्बोधन गरेका थिए।