टेस्ट नेगिटिभ आएपछि दिशा सेन्टरमा क्वारेन्टाइन रहेका सबैले पाए छुट्टी

0
1397

कालेबुङ, 16 अप्रेलः कालेबुङस्थित दिशा सेन्टरमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका सबैलाई छुट्टी दिइएको छ।

उनीहरूको टेस्ट नेगिटिभ आएपछि आज छुट्टी दिइएको हो। वर्तमानमा यस सेन्टरमा 18 जना थिए।

यसअवसरमा जीटीए बीओएका अध्यक्ष अनित थापा, नगराध्यक्ष रवि प्रधानलगायत अन्य उपस्थित थिए। उनीहरूले थप्पड़ी बजाएर छुट्टी भएकाहरूको हौसला बढ़ाएका थिए।

आज क्वारेन्टाइनबाट छुट्टी पाएकाहरूले जीटीए अध्यक्ष, नगराध्यक्ष, स्वास्थ्यकर्मीलगायत अन्य सहयोगी सबैप्रति आभार प्रकट गरेका छन्। साथै उनीहरूले कोरोनाविरुद्धको लड़ाइँ जित्नका लागि सबैलाई घरभित्रै सुरक्षित बस्नुपर्ने अपील पनि गरेका छन्।

अर्कोतिर, पत्रकारहरूसँग बोल्दै कालेबुङ जिल्ला अस्पतालका एसडीएमओ अनकन सिङ्लाङडीले आज क्वारेन्टाइनबाट छुट्टी पाएकाहरू पनि निर्देशानुसार दुई साता घरभित्रै बस्नुपर्ने बताएका छन्।

यसैबीच, पत्रकारहरूसँग कुराकानी गर्दै जीटीए बीओएका अध्यक्ष अनित थापाले कालेबुङको स्थिति धेरै राम्रो हुँदै गइरहेको तथा यसमा सबैको हात रहेको बताए।

उनले मानिसहरूलाई घरभित्रै सुरक्षित बसिदिने पनि अपील गरेका छन्। किनभने पछिल्लोपटक दिशामा रहेका 5 जनाले छुट्टी पाएको भोलिपल्ट कालेबुङ बजार अत्यधिक भीड़ बनेको बताए।

यसैले यस्तो गर्नबाट बच्नपर्ने थापाको अपील छ। “कोरोना भाइरसलाई खेलाइँची नगरौं”, उनले थपे। थापाले कालेबुङलाई मात्र होइन तर दार्जीलिङ पहाड़लाई कोरोना भाइरसबाट बचाउनका लागि एउटा टिम भएर निरन्तर लागिरहनु पर्ने आवश्यकतामाथि जोड़ दिएका छन्।

उल्लेखनीय छ, समग्रमा दिशा सेन्टरमा कुल 23 क्वारेन्टाइनमा थिए, जसमध्ये पाँचजनाको टेस्ट नेगिटिभ आएपछि पछिल्लो मङ्गलवार अर्थात् 14 अप्रेलका दिन छुट्टी दिइएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here