कालेबुङ, १६ अप्रेलः त्रिवेणी अस्पतालका अनशनकारी कर्मचारीहरूमध्ये एकजनाको अवस्था गम्भीर बनेपछि ती कर्मचारीलाई उपचारका लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ।
जानकारीका अनुसार ती कर्मचारीको नाम राम कुमार छेत्री हो।
आज उनको स्वास्थ्य अवस्था खस्किएपछि डाक्टरको परामर्श अनुसार कालेबुङ अस्पताल पठाइएको हो।
स्मरणरहोस्, न्यायको मागमा त्रिवेणी अस्पतालका कर्मचारीहरू अहिले अनशनमा छन्।
यी कर्मचारीहरूले पछिल्लो महिनादेखि नै धर्ना र अनशन शुरू गरे तापनि उनीहरूका माग सम्बन्धमा सम्बन्धित निकायले आजका दिनसम्म कुनै ठोस पहल गरेको छैन, जसका कारण यी कर्मचारीहरूले अनशनलाई झन कठोर बनाउने मन बनाएका छन्।
लगातार धर्ना र अनशन चलिरहँदा पनि सम्बन्धित निकाय आँखा चिम्लेर बसेको छ।
अर्कोतर्फ विभागबाट आफूहरूका माग सम्बन्धमा ठोस पहल नगरिए अनशनलाई अझ कठोर बनाउने चेताउनी कर्मचारीहरूले अघिबाटै दिइसकेका छन्।
कोरोना सङ्क्रमितहरूका उपचारका लागि खोलिएको त्रिवेणी अस्पतालमा कुल ४० कर्मचारी कार्यरत छन्। तर कोरोनाको सङ्क्रमण हराएपछि यस महिनादेखि यो अस्पताल अचल अवस्थामा छ, जसका कारण यी कर्मचारीहरूले यस महिनादेखि वेतन नपाउने आदेश विभागले पछिल्लो महिना जारी गरेको थियो।
विभागको यस्तो आदेश पाएपछि त्रिवेणी अस्पतालका कर्मचारीहरूले न्याय माग्दै धर्ना र अनशन शुरू गरेका हुन्।