दार्जिलिङ, १६ अप्रेलः रङ्नीत चियाकमानको लिज रद्द गरिनुपर्ने माग गर्दै हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्।
एड्वर्ड्सले पत्रमा उल्लेख गरेअनुसार रङ्नीत चियाकमानको वर्तमान मालिकवर्गले चियाकमानको सञ्चालनमा कुनै चासो नदेखाएर केवल रियल एस्टेटलाई बढी प्राथमिकता दिइरहेको छ।
साथै टी टुरिज्मका लागि सरकारद्वारा जारी दिशा निर्देशलाई नटेरी जतासुकै चियाका बोटहरू उखेलेका आरोप पनि एड्वर्ड्सले लगाएका छन्।
यति मात्र होइन, अग्रवाल ग्रुप इन्टरप्राइजले २००८ मा यस चियाकमानको सञ्चालनमा हातमा लिए यता धेरैपटक कमान बन्द गरिसकेको र पछिल्लो वर्ष अक्टोबरमा पनि दशैँको बोनस दिनको सट्टा कमानमा उल्टै ताला झुण्डाएर श्रमिकहरूलाई हरिबिजोक बनाएको पनि अजय एड्वर्ड्सले पत्रमार्फत मुख्यमन्त्री ममता ब्यानर्जीलाई जानकारी गराएका छन्।
उल्लेखनीय छ, रङ्नीत चियाकमानमा रिसोर्ट निर्माणका लागि अनियन्त्रित ढङ्गमा जतासुकै चियाका बोटहरू उखेलेको तथा श्रमिकहरूका मागलाई बेवास्ता गरी कमान खोलेको प्रतिवादमा हिजोदेखि अनशन शुरू भएको छ, जसमा अजय एड्वर्ड्स पनि बसेका छन्।