कृष्ण लिम्बूलाई हटाइयो पदबाट, ब्रिगेन गुरुङ अब खरसाङ नगरपालिकाका नयाँ अध्यक्ष

0
1084

खरसाङ, १६ मईः खरसाङ नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बूलाई पदबाट हटाइएको छ।

यसका साथै उपाध्यक्ष ब्रिगेन गुरुङलाई अध्यक्ष बनाइने निर्णय गरिएको छ।

वास्तवमा हिजो कोरोना सङ्क्रमणका कारण मृत्यु भएको खरसाङ नगरपालिकानिवासी एक वृद्धाको अन्तिम संस्कारमा नगरपालिकाले देखाएको लापरवाही र खेलाइँचीकै कारण आज कृष्ण लिम्बूलाई पदबाट हटाइएको हो।

ती वृद्धाको अन्तिम संस्कारमा नगरपालिकाले जुन प्रकारको लापरवाही गरेको परिवारपक्षको आरोप छ, त्यसले खरसाङ नगरपालिकाकै आलोचना भइरहेको छ।

यसै विषयलाई लिएर आज विनयपन्थी मोर्चा महासचिव अनित थापाको उपस्थितिमा एक नगरपार्षद्हरूको एक बैठक बसिएको थियो। यसै बैठकमा कृष्ण लिम्बूलाई हटाएर ब्रिगेन गुरुङलाई अध्यक्ष बनाइने निर्णय गरिएको हो।

‘खरसाङ नगरपालिका दिनदिनै रोगी बन्दै गएको छ। केही दिनअघि मात्र खरसाङ नगरपालिका क्षेत्रमा कोविडका कारण मृत्यु भएका एक व्यक्तिको अन्तिम संस्कार अमानवीय तरिकाले भएको सोशल मिडियामा आएको खबरले नगरपालिका आफै अस्वास्थ्य रहेको पुष्टि गरिसकेको छ’, अनित थापाले भनेका छन्, ‘खरसाङ नगरपालिकाका सबै निर्णय लिने अधिकार नगरपालिकाका अध्यक्षसँग छ। वार्ड पार्षद्हरूले आफू खुशी केही पाउँदैनन्। सबै कामको निर्णय नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बूले नै लिन्छन्। तर प्रथमतः उनी अस्वास्थ्य हुनुहुन्छ। दोस्रो नगरपालिकाको काममा धेरै हेलचेक्राइँ भइरहेको छ। त्यसैले नगरपालिकाको विधानअनुसार हामी पार्षद्हरूले उनलाई अध्यक्षको पदबाट हटाएर नयाँ अध्यक्ष बनाउने निर्णय लिएका छौँ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here