खरसाङ, 16 मई : आइतबार राष्ट्रिय राजधानी दिल्लीस्थित मुनिरकामा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले छुट्टै राज्य गोर्खाल्याण्डका लागि आजपर्यन्त आफ्नो प्राणको बलिदान दिने शहीदहरूको सम्झना सम्मान तथा श्रद्धाञ्जली अर्पण गरी ‘छबिल’ (बटुवाहरूलाई शरबत र जूसआदि पेय पदार्थ)-को आयोजन गरेको थियो।
जीएसएसएसकी प्रवक्ता अञ्जनी शर्मा भुजेलले बताएअनुसार ‘छबिल’ कार्यक्रममा एनआरसी विभिन्न सङ्घ-संस्था, राजनीतिक-गैरराजनीतिकलगायत एनआरसीवासी गोर्खाहरूको बाक्लो उपस्थिति थियो।
उनले थप बताएअनुसार शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नका साथै छुट्टै राज्य गोर्खाल्याण्डका लागि प्रतिबद्धता जनाउनका लागि यो कार्यक्रम आयोजन गरिएको हो।
“हाम्रा हजारौं शहीदले आफ्नो प्राणको आहूति दिएर गोर्खाल्याण्डको मुद्दालाई सहयोग गरेको भए तापनि आजसम्म हाम्रो मुद्दा जहींको त्यहीं रहेको छ। यसर्थ अब ती शहीदहरूको त्यागलाई जनताले सधैँ आफ्नो मानसपटलमा राखेको हुनुपर्छ। साथै अमर शहीदहरूको सपनालाई साकार गर्नका लागि सबैले मिलेर हरसम्भव प्रयास गरेको हुनुपर्छ”, अञ्जनी शर्मा भुजेलले भनेकी छन्।
कार्यक्रममा उपस्थित जनसमूहले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै ‘वर्तमान गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको बङ्गालको कालो नीति तथा खुला रूपमा भइरहेको मानव अधिकार हनन् साथै उत्पीड़नको घोर विरोध जनाएको पनि उनले जनाएकी छन्।