पार्टी महासचिवदेखि कार्यकर्तासम्मले कुनै निर्णय लिनअघि मेरो परामर्श लिनपर्नेछः विनय

0
1070

दार्जीलिङ, 16 जून : विनय तामाङलाई थोरै, तर काम गर्ने नेतृत्व साथीहरू चाहिएको छ।

विनयका अनुसार उनलाई कौरवको सेनाभन्दा पाण्डवको सेना चाहिएको छ। कम्ती नेतृत्व होस्, तर फलदायक होस्। पार्टीका जुन नेतृत्व समर्थकबिना पार्टीमा सामेल हुन आउनेछन्, उनीहरूलाई पार्टीको साधारण सदस्यता मात्र दिइनेछ।

यसका साथै अबउसो उनले गोर्खा जनमुक्ति मोर्चा, गोर्खा जनमुक्ति नारी मोर्चा, गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रिय समिति, जिल्ला समिति अनि महकुमा समितिको देखरेख आफै गर्ने पनि घोषणा गरेका छन्।

यति मात्रै होइन, पार्टीका महासचिवदेखि कार्यकर्ताहरूसम्मले अब कुनै पनि निर्णय लिनअघि पार्टी अध्यक्षको परामर्श लिएको हुनपर्ने पनि तामाङको निर्देश छ। यदि पार्टी महासचिवले पनि उनको परामर्शबिना कुनै निर्णय लिएको खण्डमा त्यसलाई पार्टीले मान्यता नदिने बताए।

आज गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा समिति, खरसाङ महकुमा समिति, मिरिक सौरेनी पानीघट्टा समितिलाई विघटन गरिएको पनि तामाङले घोषणा गरेका छन्।

आज पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, “गत विधानसभा चुनाउको परिणाममा गोर्खा जनमुक्ति मोर्चाका तीनजना उम्मेदवारमध्ये एकजना उम्मेदवार विजयी भए। यदि भोट प्रतिशत हेर्ने हो भने कसैसँग गठबन्धन नगरी लड़ेर हामीले पाएको भोट प्रतिशत उत्तर बङ्गालमा नै उच्च स्थानमा छ। यसबाट हाम्रो जनसमर्थन बढ़ेर गएको स्पष्ट छ।” विनयले थपे, “आगामी दिनमा पनि हामीले धेरै चुनाउ लड्नुपर्छ। त्यसैकारणले हाम्रो तयारी राम्रो हुनपर्छ। पार्टीमा हामीले संशोधन ल्याउँदैछौँ। पार्टीका  क्रियाकलापमा, पार्टीको साङ्गठनिक मजबुतीका लागि हामीले धेरै फेरबदल गर्दैछौँ।”

उनका अनुसार पार्टीको नेतृत्वमा पनि फेरबदल हुनेछ। समर्थकबिनै एक्लो पार्टीमा सामेल हुनेहरूलाई कुनै पद दिइनेछैन, केवल साधारण सदस्यता दिएर राखिनेछ।

यसको विपरीत समर्थकसँगै पार्टीमा सामेल हुनेहरूलाई पदमा राख्ने विनयको भनाइ छ।

“एक महिनाको मन्थनपछि पार्टीको सुदृढ़ीकरण अनि संशोधन गर्नका लागि चरणबद्ध तरिकाले फेरबदल गरिनेछ”, उनले थपे।

गोर्खा जनमुक्ति मोर्चामा 23 वटा भ्रातृ सङ्गठन छन्, जसमध्ये गोर्खा जनमुक्ति मोर्चा, गोर्खा जनमुक्ति नारी मोर्चा, गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रिय समिति, जिल्ला समिति अनि महकुमा समितिको देखरेख उनी आफैले गर्ने भएका छन्।

उनले थप भने, “आजदेखि उसो पार्टीका अन्य व्यक्तिले सोशल मिडियामा पार्टीको नाममा दिएको विज्ञप्तिलाई पार्टीले मान्यता दिनेछैन।“

साथै पार्टीको केन्द्रिय समितिलाई देखरेख गर्नका लागि एउटा मनिटरिङ कमिटीको गठन गर्ने, दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक सौरेनीका महकुमा समिति, जिल्ला समिति अनि भ्रातृ सङ्गठनहरूलाई देखरेखका लागि पनि पनि पार्टीका शीर्ष पदाधिकारीहरूको सभा राखेर एउटा मनिटरिङ कमिटी गठन गरिने पनि उनले बताएका छन्।

यसैबिच, पार्टी अध्यक्ष तामाङले नयाँ कमिटी गठन नभएसम्म साथै पार्टी महासचिव अनित थापाको रिपोर्ट नआएसम्म दार्जीलिङका लागि आलोक कान्तमणि थुलुङ, सञ्जय थुलुङ, विक्रम राई, पुरण थामी, र तिलक देवान,  खरसाङका लागि समीरदीप ब्लोन (अन्य चारजनाको नाम अनित थापाको परामर्शअनुसार सामेल गरिनेछ), मिरिक सौरेनी पानीघट्टाका लागि एसएन घिसिङ र फुबी राईलाई देखरेखका लागि जिम्मेवारी दिइएको छ।

यसका साथै कालेबुङ जिल्ला कमिटी, नारी मोर्चा जिल्ला कमिटी, युवा मोर्चा जिल्ला कमिटीका शीर्ष नेतृत्वहरूसँग उच्चस्तरीय बैठक केही दिनभित्रै गर्ने निर्णय गरेको पनि विनय तामाङले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here