ड्रग्सविरुद्ध एकजुटता, बिक्रेताहरूविरुद्ध कारबाही गरिनुपर्ने माग

0
934

मिरिक, १६ जूनः मिरिक थर्बु निगाले गाउँका सातवटा सामाजिक सङ्गठनका प्रतिनिधि र स्वनिर्भर दलका सदस्यहरूले ड्रग्सविरुद्ध एकजुटता देखाएका छन्।

एकजुट बनेका उनीहरूले आज मिरिक थाना घेराउ गर्दै ड्रग्सको बिक्री वितरण र सेवनलाई रोक्नका लागि ड्रग्स बिक्रेताहरूविरुद्ध कारबाहीको माग गरेका छन्।

उल्लेखनीय छ, केही दिनअघि मिरिक पुलिसले प्रभाकर तामाङ नाम गरेका एक युवकलाई ड्रग्ससहित पक्राउ गरेको थियो।

थानाबाट छुटेपछि ती युवकले ‘फेसबुक लाइभ’-मा मिरिकमा ड्रग्सको बिक्री-वितरण र सेवनबारे धेरै कुरा भनेका थिए।

आफू ड्रग्स सेवन गर्ने मात्र रहेको तर ‘मुख्य बिक्रेताले फँसाएर पक्राउ गराएको’ पनि उनले बताएका थिए भने पटक पटक प्रभाकर तामाङले निगाले गाउँको नाम लिएका थिए।

उनले विशेषगरी ड्रग्सको व्यापार गर्ने एक व्यक्ति थर्बु निगालेनिवासी रहेको खुलासा गर्दै ड्रग्सको बिक्री वितरण गर्नेहरूसँग पुलिसको संलग्नताको गम्भीर आरोप लगाएका थिए।

यो लाइफ भिडियो भाइरल भएपछि यसलाई लिएर गम्भीर बनेको निगाले गाउँवासी सड़कमा ओर्लेका हुन्।

यसैले पनि निगाले गाउँका सातवटा सामाजिक सङ्गठनका प्रतिनिधि, गाउँले र स्वयं सहायता समूहका सदस्यहरू ड्रग्सको बिक्री वितरण र सेवनविरुद्ध ठोस कार्य गर्न प्रशासनमाथि चाप सृष्टि गर्दै आज सड़कमा आएका हुन्।

उनीहरूले ड्रग्सको बिक्री वितरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कठोर कारबाही गरिनुपर्ने मागमा मिरिक थानामा ज्ञापन-पत्र दिएका छन्।

अर्कोतिर यसै विषयमा उनीहरूले आजै महकुमा अधिकारीसँग पनि भेटवार्ता गरेका छन्।

यसैबीच आज थर्बु निगाले गाउँका  सामाजिक  संस्थाहरूका प्रतिनिधिहरू क्रमैले सुरेश तामाङ, नयन राई, सम्राट राई र लक्ष्मण राईले पत्रकारहरूलाई सम्बोधन गर्दै आज प्रशासनिक अधिकारीहरूसँग भेट गरी ड्रग्स बिक्री वितरण र सेवनलाई जरैबाट उखलेर फ्याँक्न माग गरेका जानकारी गराए। साथै आज मिरिक थानाका प्रभारी नभएका कारण आउँदो १९ जूनका दिन पुनः बैठक बसी यस विषयमा अघिल्लो पहल गरिने उनीहरूले बताए।

मिरिकमा ड्रग्सको बिक्री वितरण गर्नेहरूलाई पुलिसले पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

“ड्रग्सविरुद्ध सक्रिय कार्य गर्न हामी अघि सरेका हौँ”, उनीहरूले भनेका छन्। साथै ड्रग्सको बिक्री वितरण र सेवनलाई जरैबाट उखलेर फ्याँक्नका लागि समाजका अन्य सङ्घ-संस्था र गाउँ-समाज पनि अघि आएर समुचित पहल गर्न आवश्यक रहेको उनीहरूले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here