दिलीप घोषको बयान राजनीतिक बाध्यता : नीरज जिम्बा

0
1314
विधायक नीरज जिम्बा।

दार्जीलिङ, 16 जुलाई : भाजपाको मुद्दाभित्र छुट्टै राज्य गोर्खाल्यान्ड नरहेको भनी भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले दिएको बयानलाई नीरज जिम्बाले राजनीतिक बाध्यताको संज्ञा दिएका छन्। सोमवार दार्जीलिङमा पत्रकारहरूलाई कुराकानी गर्दै दार्जीलिङका यी भाजपा विधायकले भने, “बङ्गालका कुनै नेताले गोर्खाल्यान्ड हुन्छ। दिन्छु भन्न सक्दैन। यसैले दिलीप घोषको बयान राजनीतिक बाध्यता हो।”

जिम्बाका अनुसार भाजपाको घोषणा पत्रमा दार्जीलिङको स्थायी राजनीति समाधान गोर्खाल्यान्ड नै हो भन्ने निश्चित रूपले तोकिएको छैन। “गोर्खाल्यान्ड भनेको धेरै कुरा हो। सजिलो कुरा पनि होइन। प्रदेश अध्यक्ष दिलीप घोषले निर्णय लिन नसक्ने कुरा पनि हो। यो उनको राजनीतिक बाध्यता हो”, विधायक जिम्बाले थपे, “गोर्खाल्यान्ड  दिल्लीको सब्जेक्ट म्याटर हो। भारतीय जनता पार्टीको राष्ट्रिय नेतृत्वसँग बसेर हामीले एउटा स्थायी राजनीतिक समाधानको कुरा गरेका छौं।”

उनले थपे, “स्थायी राजनीतिक समाधानभित्र थुप्रै कुरा आउन सक्छ। गोर्खाल्यान्डदेखि युनियन टेरिटोरीसम्मका कुराहरू छन्। कथङ्काल त्यस्तै समय परिस्थिति आएको खण्डमा अन्य विकल्पहरू पनि छन्। भाजपा ठूलो पार्टी हो। आ-आफ्नै मतहरू हुन्छ। घोषणा पत्र दिलीप घोषले निकालेका होइनन्। यो घोषणा-पत्र केन्द्रिय नेताहरूले निकालेका हुन्।  यो उनीहरूको भिजन डकुमेन्ट हो। यसमा स्थायी राजनीतिक समाधान भनेको छ।”

स्थायी राजनीतिक समाधान छुट्टै राज्य नभए यूटी हुनुपर्ने आफूहरूको माग रहेको पनि उनले दाबी गरे। “दीर्घकालीन स्थायी राजनीतिक समाधानमा अन्य विकल्पहरू पनि छन्। तर, अहिले छुट्टै राज्य नभएर यूटीकै कुरा गरौं”, जिम्बाले थपे, “हामीले केन्द्रसँग यसबारे खुला मनले बस्नुपर्छ भनेका छौं। चाँड़ै राजु विष्ट आउनेछन्। अल पार्टी डेलिगेशन लगेर हामी केन्द्रलाई सोध्नेछौं। स्थायी समाधान भनेर लेख्ने भाजपा हो। हामी होइनौं। त्यसैले उनीहरूलाई स्थायी समाधान के हो भनेर अल पार्टी डेलिगेशन लगेर सोध्नेछौं।”

उनले भने, “हामीलाई सघाउने तथा नसघाउने अन्य छुटै राज्यपन्थी दलहरूको एउटा अल पार्टी डेलिगेशन लिएर दिल्ली जानेछौं। वार्ता बसेर हामी सोध्नेछौं। तर राजनीतिमा आजको भोलिको हुन्छ भन्ने होइन। राजु विष्टले शपथ ग्रहण गरेको एक महिना पनि भएको छैन। मैले पनि शपथ ग्रहण गरेको एक महिना पुगेको छैन। तर, पहल गर्नु राम्रो कुरा हो।”

सांसद राजु विष्ट दार्जीलिङ आएपछि सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर एउटा स्टेरिङ कमिटी गठन गरेपछि दिल्ली जाने जिम्बाको भनाइ छ। उनले भने, “अहिलेसम्म हामी बिग्रेको पनि दिल्ली एकलै जाने हुँदा हो। एकलै जाँदा पारदर्शिता हुँदैन। आजसम्म हामी झुकिएको एकलै गएर हो। बिग्रियो भने पनि सामूहिक रूपमा बिग्रियोस्। दिल्लीले हुन सक्दैन भन्यो भने सबैले सुनोस्। त्यसमा पारदर्शिता देखिन्छ। यसो भएर राजनीतिक स्थिरता आउँछ।” विधायक जिम्बाले राजु विष्टमाथि आफूहरूले पूर्ण विश्वास गरेको र यसमाथि कार्य गरिरहेको जनाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here