पर्यटकहरूको उद्धार र खोजी कार्यमा विलम्ब भएकोमा खेद प्रकट गर्छु : गौतम देव

0
1371
करिब एक सातापछि दुर्घटनास्थल पुगेका पर्यटन मन्त्री गौतम देव।

सिलगढ़ी, 16 जुलाई : इनोभा दुर्घटना भएको सात दिनपछि राज्यका पर्यटन मन्त्री गौतम देव हर्कतमा आएका छन्। मङ्गलवार बिहान मन्त्री देवले पछिल्लो बुधवार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बाघपुल नजिक इनोभा दुर्घटनामा बेपता बनेका यात्रुहरूका परिजनसँग भेटवार्ता गरे।

उल्लेखनीय छ, बाघडुग्रा हवाइअड्डाबाट राजस्थानका तीनजना पर्यटक बोकेर  सिक्किमतिर गइरहेको डब्ल्यूबी 73 ई 2940 नम्बरको इनोभा बाघपुल नजिक अनियन्त्रित भई सोझै टिस्टा नदीमा खसेको थियो। त्यसपछि वाहनका चालक र तीन पर्यटकसहित बेपता बनेका थिए।

पछिल्लो शुक्रवार अर्थात् 12 जुलाईको दिन जलपाइगढ़ीस्थित गजलडोबाको टिस्टा क्यानलबाट बेपता बनेकामध्ये एक पर्यटक अमन गर्गको शव बरामद भएको थियो। यद्यपि इनोभाका चालक राकेश राई र अन्य दुई पर्यटक गौरव शर्मा र गोपाल नरवानीको अझै पत्तो लाग्नसकेको छैन।

जानकारीका अनुसार मन्त्रीले आजै खोजी कार्यमा जुटेका एनडीआरएफका जवानहरूलाई भेटेर खोजीकार्यको प्रगतिबारे जानकारी लिएका थिए।

स्मरणरहोस्, दुर्घटना भएको 6 दिन बितिसक्दा बेपता बनेका तीनजनाको कुनै पत्तो नलागेपछि कङ्ग्रेस, पीड़ित परिवार, गैरसरकारी सङ्गठन र स्थानीय मानिसहरूको प्रेसर ग्रुपले सेवक थानाअघि विरोध प्रदर्शन गर्नका साथै केही समय बाघपुल नजिक राष्ट्रिय राजमार्गमा पथावरोध समेत गरेका थिए।

अर्कोतिर आजको भेटवार्तामा उनीहरूले बेपता मानिस र वाहनलाई चाँड़ोभन्दा चाँड़ो खोजी निकाल्ने मन्त्री देवसँग अनुरोध गरे। भेटवार्तापछि संवादाताहरूसँग कुराकानीमा मन्त्री गौतम देवले इनोभा दुर्घटनामा शोक प्रकट गरे। “यहाँ घुम्न आउने पर्यटकहरू अतिथिसमान हुन्। यो घटनामा म अत्यन्त दुखित छु”, उनले भने।

उनले घटनाको विस्तृत रिपोर्ट मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाइसकिएको पनि बताए। साथै बेपता प्रटकद्वय र चालक तथा वाहनलाई खोज्नका लागि आजदेखि नौसेनाको मद्दत लिइरहेको बताए। मन्त्री गौतम देवले पर्यटकहरूको उद्धार एवं खोजी कार्यमा विलम्ब भइरहेकोमा पनि खेद प्रकट गरे। उक्त बैठकमा टुरिज्म डेवलपमेन्ट  कर्पोरेशनका उपनिर्देशक सम्राट चक्रवतीलगायत अन्य अधिकारी पनि उपस्थित थिए।

मन्त्री देवले थप जानकारी गराएअनुसार नौसेनाका अधिकारी र जवानहरू आज बेलुकीसम्म आइपुग्नेछन् भने भोलिदेखि खोजी अभियान शुरु गर्नेछन्। ‘म स्वयं पनि उपस्थित रहनेछु’, देवले भने। आज उनले इनोभा दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण निरीक्षण गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here