कर्मचारी नियुक्तिका लागि जीटीएले सब-अर्डिनेट सर्भिस सेलेक्शन बोर्ड गठन गर्ने

0
1215
जीटीए प्रशासक अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 16 जुलाई :  दार्जीलिङ पहाड़मा वर्षौंदेखि रिक्त रहेको ग्रुप ‘बी’, ‘सी’ र ‘डी’-का पदहरूमा कर्मचारी नियुक्तिका लागि जीटीएले चाँड़ै सब-अर्डिनेट सर्भिस सेलेक्शन बोर्ड गठन गर्ने जीटीएका प्रशासक अनित थापाले बताएका छन्। मङ्गलवार एक विज्ञप्ति जारी गरी थापाले यसबारे जानकारी गराएका हुन्।

 विज्ञप्तिका अनुसार उनले 25 जून 2019 को दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जीलिङ पहाड़मा सब-अर्डिनेट सर्भिस सेलेक्शन बोर्ड गठन गर्ने मागमा पत्राचार गरेका थिए। पत्रको मेमो सङ्ख्या-06/I-I/बीओए/जीटीए/2019-20 मिति 25/06/2019 रहेको पनि जनाइएको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार पहाड़मा सब-अर्डिनेट सर्भिस सेलेक्शन बोर्ड गठन गर्ने थापाको मागप्रति राज्य सरकार राजी भएको छ। यसका साथै पश्चिम बङ्गाल सरकारले जीटीए क्षेत्रका लागि सब- अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्ने आधिकारिक पहल पनि शुरु गरिसकेको छ।

‘दागोपाप कालदेखि नियुक्ति प्रक्रिया ठप्प भएकोले करिब 22 वर्षदेखि दार्जीलिङ पहाड़मा बेरोजगार समस्या हाहाकारजस्तो भएर फैलिरहेको छ। यहाँका योग्य, शिक्षित अनि प्रतिभाशाली जमात नोकरीको खोजीमा पलायन हुनु परिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो विकराल समस्यालाई ध्यानमा राखेर नै जीटीएले सब- अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्ने प्रस्ताव राज्य सरकारलाई पठाएको थियो।’

राज्य सरकारद्वारा जीटीएको उक्त माग स्वीकृत भएकोले अब जीटीएक्षेत्रभरिमा अहिलेसम्म रिक्त रहेका करिब 5 हजार ग्रुप ‘बी’, ‘सी’ र ‘डी’ -का रिक्त पदमा सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डमार्फत् रोजगार प्रदान गरिने थापाले विज्ञप्तिमा बताएका छन्। ‘दार्जीलिङ पहाड़का युवा पिँढ़ीलाई आफ्नै क्षेत्रमा रोजगार सुनिश्चित गर्नलाई जीटीएले सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठन प्रक्रिया चाँड़ोभन्दा चाँड़ो पूरा गर्ने पनि सबैलाई जनाउन चाहन्छु’, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here