कोभिड-१९ रोक्न सरकारको प्रदर्शन खराब र संवेदनहीन भए पनि सहयोग गरेरै जाने : चामलिङ

0
1008
पवन चामलिङ (फाइल फोटो)

गान्तोक, १५ जुलाईः पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले राज्यमा अचानक कोभिड-१९ मामिला बढ़ेपछि सामुदायिक स्तरमा यसले ठूलो चिन्ता उत्पन्न भएको र विशेष गरी रङ्गेली र रिनाक क्षेत्रका मानिसहरूले भयावह स्थितिको सामना गरिरहेको कुराले आफूलाई चिन्तित बनाएको बताएका छन्।

केही दिनअघिसम्म शून्य मामिलाका रूपमा परिचित सिक्किममा अहिले २०० अधिक मामिला र सार्वजनिक क्षेत्रमा कोरोना सङ्क्रमणले राज्य प्रशासन र ग्रेफको ठूलो लापरवाहीको पोल खोलेको उनले बताएका छन्।

चामलिङले सार्वजनिक कष्टप्रति सरकार संवेदनशील नभएको अनि हेल्चेक्राइपूर्वक  दिशानिर्देशहरू जारी गर्ने प्रशासनको कार्य अर्को चिन्ताजनक विषय रहेको बताएका छन्।

उनका अनुसार निजी वाहन र दुइ चक्के वाहनलाई जुन प्रकारले प्रतिबन्ध लगाइएको छ, त्यो पूर्णतया अतार्किक निर्णय रहेको छ।

यसरी नै रेड जोन नभएको क्षेत्रमा पनि अन्तरजिल्ला परिवहनमाथि अचानक प्रतिबन्ध लगाउने कुरा पनि सन्दिग्ध रहेको चामलिङको भनाइ छ।

कतिपय मानिस आफ्नो घरदेखि बाहिर फँसेको, अड-इभन नियमका कारण सार्वजनिक परिवहनमा सीमित ट्याक्सी सेवाले पनि यात्रीहरूलाई अझ धेरै जोखिमको स्थिति भइरहेको पूर्व मुख्यमन्त्रीले बताएका छन्।

पवन चामलिङले संक्रमितहरूको सम्पर्कमा आउनेहरूको तत्काल खोजी गरेर व्यापक परीक्षण गराउन पनि सरकारलाई अनुरोध गरेका छन्। साथै खराब प्रशासनिक प्रदर्शन भए पनि सरकारसित मिलेर सहयोग जारी राख्ने नागरिकहरूलाई आह्वान पनि गरेका छन्।

उनले सरकारको फैसलालाई निरन्तर सहयोग गर्ने र सामुहिक लड़ाइँ लड़ेर नै कोरोनालाई पराजित गर्ने सल्लाह पनि दिएका पनि छन्।

पवन चामलिङले नागरिकहरूलाई कुनै पनि अनुचित जोखिम नउठाउने, व्यक्तिगत, पारिवारिक र सामुदायिक सुरक्षा सुनिश्‍चित गर्ने बताउँदै एउटा सानो गल्तीले ठूलो आपदा निम्त्याउन सक्छ भन्दै नागरिकहरूलाई सचेत गराएका छन्।

यसरी नै एसडीएफ अध्यक्षले सिक्किमे नागरिकहरूप्रति यो चिन्ताजनक स्थितिमा सहानुभूति र चिन्ता व्यक्त गरेका छन्। उनले कोभिड-19 बाट प्रत्यक्ष शिकार भएकाहरूप्रति सहानुभूति प्रकट गर्दै बच्नसकिने उपायहरू अप्नाउन गल्ती भएको कारण अग्रपङ्क्तिका योद्धा, पुलिस र स्वस्थ्यकर्मी शिकार भएका छन्।

‘उनीहरूप्रति मेरो विशेष सहानुभूति छ। प्रशासनको खराब प्रदर्शन भए पनि आफ्नो सङ्कल्पमा अडिग भएर हताश नभइकन कोरोनाविरुद्धको युद्धमा सहयोगी बन्ने मेरो अनुरोध छ’, चामलिङले भनेका छन्।

यसरी नै उनले सरकारको तर्फबाट बितेको हप्ता अनि महिनामा सार्वजनिक कार्यहरूमा जुन लापरवाही देखाएको छ, त्यसलाई सरकारले सुधार गर्नेछ भनेर आशा पनि व्यक्त गरेका छन्।

‘सरकारको तर्फबाट सामाजिक कार्यक्रमहरू, सामुहिक भेला गरेको, मास्क नलगाइकन जुन प्रकारले क्यामराको अघाड़ि भीड़ देखाउने लज्जास्पद कार्य सरकारको तर्फबाट भएको छ, त्यो आगामी दिनमा लामो समयसम्म सार्वजनिक जीवनको स्मृतिमा खट्किरहने छ’ पवन चामलिङले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here