डीएचआरको जोय राइड शुरू

0
1269

दार्जिलिङ, १६ अगस्तः दार्जिलिङ हिमालयन रेलवेले आफ्नो जोय राइड सेवा आजदेखि शुरू गरेको छ।

कोरोना सङ्क्रमणका कारण दार्जिलिङ र घूम रेलवे स्टेशनमाझ चल्ने यो जोय राइड सेवा १ मईदेखि बन्द गरिएको थियो। तर, आजदेखि पुनः यो जोय राइड शुरू गरिएको छ।

जोय राइड सेवाले दार्जिलिङ आएका पर्यटकहरूका लागि निश्‍चित रूपले मनोरञ्जन दिने आशा गरिएको छ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरू भएपछि बन्द गरिएका दार्जिलिङका अधिकांश पर्यटन स्थलहरू अझैसम्म पनि खोलिएको छैन, जसको फलस्वरूप दार्जिलिङ घुम्न आएका पर्यटकहरू निराश बनिरहेका थिए। यद्यपि जोय राइड सेवा शुरू भएपछि यहाँ घुम्न आएका पर्यटकहरू आनन्दित बनेका छन्।

रेलवे प्रशासनले हाललाई दैनिक तीनवटा डिजल र तीनवटा स्टिम इञ्जिनको टोय ट्रेन चलाउन शुरू गरेको छ।

स्मरण रहोस्, विश्‍व विरासतको सूचीमा सामेल दार्जिलिङ हिमालयन रेलवे स्वदेशी-विदेशी पर्यटकहरूका लागि एउटा मुख्य आकर्षणको केन्द्र हो।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरू भएपछि यहाँका अन्य पर्यटन स्थलहरूसँगै यो टोय ट्रेन सेवा पनि ठप्प बनेको थियो। तर आजदेखि फेरि यो सानो रेल सेवा शुरू भएपछि दार्जिलिङ घुम्न आएका पर्यटकहरू धेरै उत्साहित बनेका छन्।

यसबारे दार्जिलिङ हिमालयन रेलवेका स्टेशन मास्टर सुमन प्रधानले आजदेखि टोय ट्रेनको जोय राइड सेवा शुरू भएकोमा खुशी व्यक्त गर्दै यो टोय ट्रेन सेवाबाट दार्जिलिङ आएका पर्यटकहरूलाई आनन्द तुल्याउने निश्‍चित भएको बताए।

उनले दार्जीलिङ आएका पर्यटकहरूलाई रेलवे स्टेशनमा आउने अपील गर्दै टोय ट्रेन सेवाको आनन्द लिने पनि आह्वान गरेका छन्।

प्रधानका अनुसार आज पहिलो दिन कम्ती सङ्ख्यामै भए पनि यात्रीहरूले टोय ट्रेन सेवाको आनन्द उठाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here