गान्तोक, 16 अगस्तः गान्तोक नगर निगमअन्तर्गत वार्ड नम्बर 10 आरिथाङको उपचुनाउ आगामी 17 सेप्टेम्बरमा हुनेछ, जसका लागि सोमबारदेखि नामाङ्कन प्रक्रिया शुरू भएको छ।
राज्य चुनाउ आयुक्त निमा एल येथेन्पाले आज उनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार वार्डमा 3632 मतदाता रहेका छन्।
उल्लेखनीय छ, पछिल्लो नगरपालिका चुनाउमा 10 आरिथाङ वार्डबाट निर्वाचित बनेका राजु तामाङको निधन भएपछि यो खाली रहेको थियो।
नगरपालिका चुनाउमा विजयी बनेका राजु तामाङको 51 वर्षको उमेरमा 2 मईका दिन निधन भएको थियो।
चुनाउ आयुक्त निमा एल येथेन्पाका अनुसार उम्मेदवारले नामाङ्कन दर्ता गर्ने अन्तिम मिति 23 अगस्त रहेको छ।
यसरी नै 24 अगस्तका दिन नामाङ्कन-पत्रको जाँच हुनेछ। नामाङ्कन फिर्ता लिने अन्तिम मिति 26 अगस्त रहेको छ।
मतदान 17 सेम्टेम्बर तथा मतगणना 19 सेप्टेम्बरका दिन हुनेछ। उपचुनाउ प्रक्रिया 22 सेप्टेम्बरमा समाप्त हुनेछ।
चुनाउ मितिको घोषणा र अधिसूचना जारी हुनसितै 10 आरिथाङ वार्डका लागि आदर्श आचारसंहिता पनि लागु भएको छ।
राज्य चुनाउ आयुक्त निमा एल येथेन्पाले वार्डका सबै मतदातालाई मतदान प्रक्रियामा सहभागी बन्न आग्रह गरेकी छन्।
उनले थप जानकारी दिएअनुसार यस वार्डको मतदानका लागि तीनवटा पोलिङ स्टेशन रहनेछन्।
वार्डका कुल मतदातामाध्ये 1898 पुरुष र 1734 महिला मतदाता रहेका छन्।
आज पहिलो दिन कसैले पनि नामाङ्कन-पत्र भरेनन्।