आगलागीमा 14 वटा दोकान जलेर खरानी

0
1407
सिलगढ़ीमा सोमवार बिहान लागेको आगो।

सिलगढ़ी, 16 सेप्टेम्बर : सिलगढ़ीमा सोमवार सखारै लागेको आगोको चपेटमा परी 14 वटा दोकान जलेर खरानी भएका छन्। यो आगलागीको घटना  तेञ्जिङ नोर्गे बस स्ट्याण्डसँग संलग्न सिलगढ़ी जङ्क्शनमा  भएको हो। जानकारीका अनुसार आज बिहान करिब 3 बजे आगो लागेको हो। आगलागीबारे सूचना पाएलगत्तै घटनास्थलमा पुगेका अग्निशमन विभागका कर्मचारीहरूले समयमा आगो निभाउन सकेकोले पनि ठूलो दुर्घटनाबाट शहर जोगिएको हो। किनभने घटनास्थलबाट 100 फुट पर पेट्रोल पम्प छ।

जङ्क्शन क्षेत्रमा पीडब्ल्यूडीको जमिनमा करिब 50 दोकान छन्। जसमध्ये 14 वटा दोकान आजको आगलागीमा जलेर खरानी भएका छन्। जानकारीका अनुसार चारवटा होटल, दुईवटा ट्राभल्स एजेन्सी,  मोबाइल दोकान, सैलुन, चियाका दोकान आदि जलेका छन्। जानकारीका अनुसार आगलागीका घटनाबारे सबैभन्दा  पहिला तेञ्जिङ नोर्गे बस स्ट्याण्डका सुरक्षाकर्मीले थाह पाएका थिए। ती सुरक्षाकर्मीले आगो लागेको थाह पाएलगत्तै प्रधाननगर पुलिस र अग्निशमन विभागलाई जानकारी गराएका थिए।

अर्कोतिर, तृणमूल कङ्ग्रेस खण्ड-1 का अध्यक्ष सञ्जय पाठकले बताएअनुसार आगो बिहान करिब 3 बजेको लागेको हो। उनका अनुसार तेञ्जिङ नोर्गे बस टर्मिनल्सका एक सुरक्षाकर्मीले सबैभन्दा पहिला आगो लागेको देखेपछि तत्कालै उनले घटनाबारे प्रधान नगर पुलिस र फायर ब्रिगेडलाई सूचित गरेका थिए।

तृणमूल नेता पाठकले त्यहाँ रहेका दीपक होटल र मिथाली होटलमध्ये एक होटलबाट आगो फैलिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। किनभने यी दुवै होटलमा खाना पकाउनका लागि कोइलाको चुल्हा प्रयोग गरिन्छ। यसका साथै प्रत्यक्षदर्शीहरूले पनि यी दुवै होटल भएको ठाउँबाट आगोको धुवाँ निस्केको देखेका थिए।

स्थानीय मानिसहरूले बिहानै दुईपटक विस्फोटको ठूलो आवाज सुनेका थिए। आगलागीको कारण सिलेण्डर पड़्किँदा उक्त आवाज आएको पछिबाट उनीहरूले थाह पाए। यसैबीच, पर्यटन मन्त्री गौतम देवले आज बेलुकी घटनास्थलको भ्रमण गरी आगलागीले पुर्‍याएको क्षयक्षतिबारे जानकारी लिए। मन्त्री देवले पीडब्ल्यूडीको जमिनमा रहेका ती दोकानहरूको पुनर्निर्माणका लागि छुट्टै कोष आवण्टन गर्ने आश्वासन दिए।

यसका साथै उनले व्यक्ति खाताबाट पीड़ित दोकानहरूलाई 10,000 रुपियाँ गरी आर्थिक सहयोग गर्ने घोषणा गरे। यसैगरी आफ्ना साथीहरूबाट व्यक्ति रूपमा सहयोगहेतु थप अर्थ सङ्ग्रह गर्ने आश्वासन दिएका छन्। यसैगरी पीड़ितहरूका लागि आवश्यक सहयोगका लागि सिलगढ़ी नगर निगमका मेयरलाई पत्राचार गर्ने बताए। किनभने यो क्षेत्र नगरनिगमअन्तर्गत् पर्ने उनको भनाइ छ।

अर्कोतिर, नगर निगमका मेयर एवं सिलगढ़ीका विधायक अशोक भट्टाचार्यले पनि आजै बिहान घटनास्थलको भ्रमण निरीक्षण गरे। यसअवधि उनले पीड़ित दोकानेहरूसँग भेटवार्ता गरे। घटनाबारे उनीसँग प्रतिक्रिया लिनका लागि पटक पटक फोन गर्दा पनि उनीसँग सम्पर्क हुनसकेन।

जानकारीका अनुसार भ्रमणअवधि उनले पीड़ित दोकानेहरूलाई राहतका लागि आर्थिक सहयोग गर्न नसकिने बताए। उनका अनुसार सहयोग लागि नगर निगम अन्य सहयोगबाहेक आर्थिक सहयोग गर्नका लागि सक्षम छैन। किनभने अहिलेघरी नगर निगमसँग फण्ड छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here