कोनराड साङ्माले पहिला आफ्नै राज्यका गोर्खा समुदायलाई न्याय दिऊन् : विनयपन्थी मोर्चा

0
929

दार्जीलिङ, 16 सेप्टेम्बरः गोर्खा समुदायका लागि गोर्खाल्याण्ड दिनुपर्ने माग गर्दै गृहमन्त्री अमित शाहलाई पत्राचार गर्ने नेशनल पिपल्स पार्टी (एनपीपी) प्रमुख कोनराड के. साङ्माले सर्वप्रथम आफ्नै राज्य मेघालयमा गोर्खा समुदायमाथि भइरहेको अन्याय समाप्त गरिदिनुपर्ने विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले माग गरेको छ।

गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले आज यसै विषयमाथि जोड़ दिँदै चुनाउ आउन लाग्दा गोर्खाको भावनासित खेल्न विभिन्न पार्टी अघि आउन थालेको आरोप लगाए।

उनले भने, “भर्खरै मेघालयका मुख्यमन्त्री एवं एनपीपीका अध्यक्ष साङ्माले गोर्खा समुदायका लागि गोर्खाल्याण्ड राज्य दिनुपर्ने माग गर्दै पत्राचार गरेका छन्, यसलाई गोर्खा जनमुक्ति मोर्चाले स्वागत गर्छ। तर, उनकै राज्य मेघालयमा गोर्खा समुदाय विभिन्न अधिकारबाट वञ्चित बन्न बाध्य बनिरहेका छन्। यसैले साङ्माले यस्ता समस्याहरूको निदान गरिदिए उचित हुनेछ।’’

उनले थपे, “80-को दशकमा मेघालयमा गोर्खा समुदायको जनसङ्ख्या 3 लाखभन्दा अधिक थियो, तर विभिन्न समस्या तथा अन्यायका कारण नै त्यहाँबाट गोर्खा समुदाय पलायन बन्न बाध्य बनेको हो। जसको फलस्वरूप हाल मेघालयमा गोर्खाको जनसङ्ख्या केवल 60 हजार भइसकेको छ। मेघालयमा अनुसूचित जनजातिबाहेक अन्य कुनै पनि जातले आफ्नो जमीनको मालिकाना अधिकार आफ्नै छोराको नाममा पनि हस्तान्तरण गर्न पाउँदैन। नेपाली जातिलाई सरकारी नोकरी दिइँदैन। गोर्खा जातिका तामाङ र सुब्बा पनि मेघालयमा यो अधिकारबाट वञ्चित छन्। किनभने, तामाङ र सुब्बा जात केवल बङ्गाल र सिक्किममा मात्रै जनजाति हो। यसैले मेघालयका मुख्यमन्त्री साङ्माले सर्वप्रथम मेघालयमा बसोबासो गर्ने गोर्खा समुदायलाई मेघालयका जनजातिलाई उपलब्ध हुने सुविधाहरू प्रदान गरून्, त्यहाँका जनजातिलाई जतिकै अधिकार दिउन् अनि प्रथम दर्जाको नागरिकको दर्जा दिउन्।’’

यदि मुख्यमन्त्री साङ्माले आफ्नै अधिकार क्षेत्रमा पर्ने यी सुविधाहरू गोर्खा समुदायलाई प्रदान गरे, उनी साँच्चै गोर्खा जातिप्रति इमानदार रहेको एउटा प्रमाण हुने पोख्रेलले बताए।

“नत्र, उनले गोर्खाल्याण्डको माग गर्दै गृहमन्त्रीलाई पत्राचार गर्नुको उद्देश्य केवल राजनीति प्रेरित तथा गोर्खा जातिको भावनासित खेल्ने एउटा खेल मात्रै मान्न सकिन्छ’’, उनले थपे, “1980-मा मेघालयमा कोनराड के. साङ्माकै पिता पी.ए. साङ्मा सत्तामा भागीदार रहँदा मेघालयबाट ग्यार-ग्वार्ती गोर्खाहरूलाई खेदाउने कार्य भएको थियो, गोर्खाहरूका घरमा आगो लगाउने काम भयो, नेपाली चेलीहरूमाथि अत्याचार भएको इतिहास धेरैले भुलेका छैनन्। जसको कारण नै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठन गरेर सुवास घिसिङले यहाँ गोर्खाल्याण्डको मागमा आन्दोलन चर्काएका थिए। आज उनै साङ्माका छोराले गोर्खाल्याण्डको मागमा गृहमन्त्रीलाई पत्राचार गर्नु भनेको गोर्खा जातिको भावनासित खेल्नु मात्रै हो भन्ने स्पष्ट छ।’’

यसरी नै गोजमुमो प्रवक्ता पोख्रेलले दार्जीलिङका सांसद राजु बिष्टले संसदमा तेञ्जिङ नोर्गे शेर्पालाई भारत रत्न प्रदान गर्नुपर्ने उठाएको मागप्रति कटाक्ष प्रहार गर्दै भने, “2014-मा पनि दार्जीलिङबाट खड़ा भएका भाजपा उम्मेदवार एसएस अहलुवालिया दार्जीलिङस्थित नोर्गेको घरैमा गएका हुन् अनि उनले पनि नोर्गेलाई भारत रत्न दिनुपर्ने माग उठाएका हुन्। उनी दार्जीलिङबाट सांसद बने अनि केन्द्रमा मन्त्री पनि बने, तर त्यसपछि उनले कहिले तेञ्जिङ शेर्पाको नाम पनि लिएनन्। अब फेरि राजु बिष्टले पनि यही कुराको उठान गरिरहेका छन्। राजु बिष्ट सत्तारूढ़ दलका सांसद हुन् र उनले माग गरिरहनु होइन, दिलाउने काम गर्नुपर्छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here