गान्तोक, १६ सेप्टेम्बरः सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले सिक्किमे नागरिक समाजका मुख्य संरक्षक छितेन टाशी भोटिया र अध्यक्ष भरत बस्नेतको खुलेर आलोचना गर्दै आफूसित बहसमा आउन चुनौती दिएका छ।
सिक्किमे नागरिक समाजले पछिल्लो ५ सेप्टेम्बरका दिन गान्तोकमा आयोजन गरेको कार्यक्रमको अवसरमा छितेन टाशी भोटिया र भरत बस्नेतले राखेको वक्तव्यलाई आज केबी राईले पत्रकार सम्मेलनको माध्यमबाट चिरफार गरे।
विशेष गरेर ५ सेप्टेम्बरको कार्यक्रममा छितेन टाशी भोटिया र भरत बस्नेत दुवैले सिक्किमे नेपाली समुदाय ‘इमिग्रान्ट’ हुन् भन्ने कुनै ऐतिहासिक दस्तावेज छैन भनेर झुटो बयान दिएको दाबी गर्दै राईले नेपाली समुदायमाथि लागेको ‘इमिग्रान्ट’ को दाग सम्बधमा विभिन्न दस्तावेज प्रेससमक्ष राखे।
यसका साथै उनले आफूले राखेका दस्तावेज कसैले पनि गलत मान्छन् भने बहसमा आउन चुनौती पनि दिए।
उनले आज आयोजित पत्रकार सम्मेलनमा भने, “केबी राई कहिले पनि पनि सत्तालाई केन्द्रित राजनीतिमा छैन। हामी दलगत राजनीतिको सीमित घेराभित्र रहेर सिक्किमे समाजलाई वास्तविक कुराबाट वञ्चित गराउँदैनौँ। सबैलाई न्यासङ्गत आधारमा एक गराउने हाम्रो दर्शन हो। सिक्किमे नागरिक समाजले जुन विषय जनता अघि राख्दैछ, हामी त्यसको दस्तावेजका आधारमा चिरफार गर्छौं।”
राईले थपे, “५ सेप्टेम्बरको कार्यक्रममा सिक्किमे नागरिक समाजका मुख्य संरक्षक छितेन टाशी भोटियाले सिक्किम सब्जेट सार्टिफिकेट (एसएससी) र सीओआई भएका सिक्किमेहरू इमिग्रान्ट नरहेको र कतिपय राजनीतिज्ञले लगाएको दाग मात्र हो भन्दै यस्ता विषयलाई अन्त गरिनुपर्छ भनेका छन्। हो पनि मान्छु; सिक्किमे नेपाली समुदायमा लागेको इमिग्रान्टको दाग हटाउनुपर्छ। तर, के त्यसका लागि रेभेन्यु अर्डर नम्बर वानमा बीएल समुदायको जमिन बीएलमा मात्र किनबेचको प्रावधानलाई हटाएर एसएससी र सीओआई भएका नेपालीले पनि सराबरी किनबेच गर्न पाउनुपर्छ भन्ने कुरा छितेन टाशीले किन उठाउँदैनन्? बिल नम्बर ७९-ले सिक्किमका चार समुदाय मध्ये किन बीएल लाई मात्र ओरिजिनल इह्नेबिटेन्ट भनेर व्याख्या गर्यो? किन बीएलबाहेक अन्यलाई सिक्किमको सेकेन्ड क्लास नागरिक बनाइयो यसबारे जबाफ दिनुपर्छ।”
सिक्किमे नागरिक समाजले सिक्किमको इतिहासलाई सच्याउने पहल सिक्किम सरकार र भारत सरकारमा गर्छ भने आफू पनि सिक्किम रिपब्लिकन पार्टी भङ्ग गरी यसमै सामेल ठोकुवा गर्दै यदि यसो हुँदैन भने सिक्किमका बुद्धिजीविवर्गले सिक्किमे नागरिक समाजमा गएर समय नष्ट गर्नु नहुने राईको भनाइ छ।
सिक्किमे नेपाली समुदायलाई इतिहासले नै रैथाने नबताएकाले भारत सरकारले पनि यो समुदायलाई जनजातिको दर्जा प्रदान गर्छ भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ छ।
यदि इतिहास सच्चाउने पहल हुँदैन भने कसैलाई नेपाली समुदायलाई अन्योलमा पार्ने अधिकार छैन भन्दै २०१६-मा सिब्ल्याक समर्थित एसकेएम विधायक सोनाम लामाले सिक्किम विधानसभामा नेपाली सिट सम्बन्धमा ल्याएको विधेयक अहिलेको सरकारमा पारित गराउन किन दबाउ भएन? भन्ने सोझो प्रश्न पनि उनले गरेका छन्।
राईले भने, “यदि छितेन टाशी भोटियाले नेपाली सिटको पक्षमा कुरा गर्छन् भने उनले नेपाली सिट मात्र होइन सिक्किम विधानसभामा समानुपातिक नेपाली सिट माग्नुपर्छ। किनभने सबै समुदायमा समानता हुनुपर्छ बनेर नै १९७३-को आन्दोलन भएको थियो। सबैजना सामाजिक र कानुनी रूपले एक नभएसम्म एकरूपताको कुरा गर्नु व्यर्थ हुन्छ। कोही पनि एकै ठाउँमा बस्दैमा एक हुँदैनन्, कानूनना एक बनाउने पहल हुनुपर्छ। छितेन टाशीले समानुपातिक नेपाली सिटको कुरा गरून् हामी पनि उनकै साथमा हुनेछौँ।”
केबी राईले सिक्किमे नागरिक समाजका अध्यक्ष भरत बस्नेतको पनि खुलेर आलोचना गरे। राईले भरत बस्नेतलाई स्टेजबाट बोल्दा मात्र ‘वी आर वान’ भन्ने कुरा नगरेर कानुनी आधारमा सिक्किमे नेपाली, भोटिया र लेप्चालाई एक बनाउने पहलमा काम गर्ने चुनौती दिए।
उनले भने, “सिक्किमे नागरिक समाजको मञ्चबाट बोल्दै भरत बस्नेतले कुनै पनि ऐतिहासिक दस्तावेजले नेपालीलाई इमिग्रान्ट भनेको कसैले साबित गर्नसके म सिक्किम छोड्छु भनेका छन्। हामीसित १८९७-मा एचएस रिस्लेले नेपाली अरुण नदी पारिबाट आएका इमिग्रान्ट भनेर व्याख्या गरेको दस्तावेज र अन्य धेरै दस्तावेज छन्। यदि भरत बस्नेतले आफ्नो वचनको मर्यादा राख्छन् भने यी दस्तावेजलाई आधार मानेर सिक्किम छोड्नुपर्यो।”
सिक्किमको रेभेन्यु अर्डर नम्बर वान लगायतका अन्य धेरै कानूनले सामन्ती व्यवस्थाकै हिमयती गरेको दाबी गर्दै केबी राईले सिक्किममा अहिले पनि पुरानो सामन्ती व्यवस्था जस्ताको तस्तै रहेको ठहर गरे। उनले भने, “सिक्किम अहिले पनि राजतन्त्रकै रूपमा छ, जसबाट हामी यसलाई प्रजातान्त्रिक व्यवस्थामा ल्याउन चाहन्छौँ। हामी कानून सच्याउने पक्षमा जानुपर्छ यो नभएसम्म जातिवादी राजनीतिको शिकार भइरहन्छौँ।”
एसआरपी अध्यक्ष केबी राईले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई नेपालीलाई लागेको इमिग्रान्ट दाग हटाउन २५ वर्षको सरकारले के काम भयो? भन्ने प्रश्न गरे।
उनले भने, “यस विषयमा एसआरपीले पवन चामलिङसित पनि प्रश्न गर्नेछ। पवन चामलिङले पनि मिडिया अघि आएर नेपालीमा लागेको इमिग्राण्टको ट्याग हटाउन र लोकल प्रोटेक्सनका लागि गरेका काम बारे बयान दिनुपर्छ।”